४ वैशाख, पोखरा । गण्डकीमा सरकार गठन र यसको वैधानिकताको प्रश्नको किनारा नलाग्दै सत्ता गठबन्धनका दलभित्र छटपटी देखिएको छ । मुख्यमन्त्री खगराज अधिकारी र निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे दुवै जना शीर्ष नेताहरुसँग भेटेर बाटो देखाइदिन हारगुहार गरिरहेका छन् ।
मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो नियुक्तिको औचित्य पुष्टि गर्ने आधार खोजिरहेका छन् भने सर्वोच्चबाट आफ्नै पक्षमा फैसला आउने र ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री बन्ने बाटो खुल्ने अनुमान गरिरहेका छन् । सकेसम्म राप्रपाकै साथ लिने नत्र अन्य विकल्पको ढोका पनि ढोल्ने रणनीतिका साथ खगराज लागिरहेका छन् ।
सुरेन्द्रराज भने ठूलो दलको हैसियतले मुख्यमन्त्री बन्ने स्थिति आइहाल्यो भने राप्रपाको साथ लिएर, राजीव गुरुङ (दीपक मनाङे) र माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादीका सांसद फणिन्द्र देवकोटाबाट फ्लोर क्रस गराएर भए पनि विश्वास जित्ने राणनीतिमा छन् ।
मुख्यमन्त्री खगराजले आफ्नो नियुक्तिमाथि प्रश्न उठाउँदै पाण्डेले सर्वोच्चमा हालेको रिटको सुनुवाइ हुनुभन्दा अगाडि नै विश्वासको मत लिने तयारी गरेको नेताहरुले बताइरहेका छन् । सभामुख कृष्ण धिताललाई समेत संलग्न गराएर मुख्यमन्त्री नियुक्ति भएपछि यसको वैधानिकतामाथि उठेको प्रश्नको किनारा लाग्नुअगाडि नै विश्वासको मत लिइहाल्न सकियो भने औचित्य पुष्टि हुने रणनीति सत्तारुढ दलको छ ।
मन्त्रिपरिषदमा प्रदेश सभा बैठक आह्वानबारे छलफल
गण्डकीमा एमाले-माओवादीले भनेजस्तो खगराजले तत्काल विश्वासको मत पाइहाल्ने अवस्था भने छैन । गत मंगलबार नै विश्वासको मत लिनका लागि अधिवेशन आह्वान गर्नेबारे मन्त्रिपरिषदको बैठकमा छलफल भएको थियो । तर, विश्वासको मत पनि पाइहाल्ने स्थिति नरहेको र अर्को कानुनी आधार पनि तत्काल सामुन्ने नदेखिएकाले त्यो निर्णय हुन सकेन ।
संसद आह्वान गर्ने लगायतका विषयमा छलफल गर्न मंगलबार (आज) बिहान फेरि मन्त्रिपरिषदको बैठक बसेको छ ।
बैठकमा संसद आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने विषयमा छलफल भएको थियो । तर प्रदेश प्रमुख बाहिर रहेकाले अधिवेशन आह्वानको मिति भने टुंगो नलागेको विनाविभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।
सत्ता गठबन्धनका दलहरु प्रदेश आह्वान गर्न तयार भए पनि विश्वासको मत पाउने आधार भने स्पष्ट देखिएको छैन । राप्रपाको साथबिना अझै पनि गण्डकीमा एमाले-माओवादीको सहजै सरकार बन्न सक्ने स्थिति देखिएको छैन ।
एमालेका २२, माओवादीका सभामुखसहित ८ र मनाङबाट स्वतन्त्र चुनाव जितेका राजीव गुरुङ (दीपक मनाङे)सहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका खगराजले संसदमा यही संख्या पाउन सक्ने तत्कालको स्थिति नरहेको एमालेकै सांसदहरुले बताइरहेका छन् ।