गत वर्ष अक्टोबर ७ मा हमासले इजरेलमा अप्रत्याशित आक्रमण गरेर ठूलो क्षति पुर्याएपछि उक्त घटनाको योजना कसले बनाएको थियो भन्ने प्रश्न उठेको थियो।
गाजामा नियन्त्रण कायम गरेको उक्त प्यालेस्टिनी लडाकु समूहका धेरै उच्चपदस्थ नेताहरू चर्चामा आउन खासै खोज्दैनन्। अरू नेताले भने इजरेलले हत्या गर्न सक्ने डरले सुरक्षित बस्ने प्रयास गर्दै आएका छन्।
गाजामा शासन गरिरहेको हमासका धेरै नेताहरू सञ्चारमाध्यममा मुख छोपेर मात्रै देखा पर्छन्।
यहाँ हामी अहिलेका सबैभन्दा प्रख्यात हमासका राजनीतिक नेताहरू र उसको इज्ज अल-दिन अल-कसम ब्रिगेडका सैन्य कमान्डरहरूबारे चर्चा गर्दै छौँ।
इरानको राजधानी तेहरानमा इजरेलले गरेको भन्ठानिएको एउटा क्षेप्यास्त्र आक्रमणमा परेर हमासका शीर्ष नेता इस्माइल हानियाको मृत्यु भएको भोलिपल्ट इजरेली सेनाले हमासका सैन्य विभाग प्रमुख मोहम्मद डेफको जुलाई १३ मा गाजा स्ट्रिपमा गरिएको कारबाहीमा मृत्यु भएको घोषणा गरेको छ।
इस्माइल हानियाको हत्या भएपछि हमासले उनको स्थानमा याह्या सिन्वारलाई आफ्नो समूहको नेता नियुक्त गरेको छ।

याह्या सिन्वार
हानियाको मृत्यु भएपछि नेतृत्व चयन गर्न हमासले दोहामा दुई दिन सघन बैठक गरेको थियो।
सन् २०१७ देखि गाजा स्ट्रिपमा हमास समूहका नेता रहेका सिन्वारलाई सर्वसम्मतिमा उक्त समूहको राजनीतिक विभाग नेतृत्व गर्ने जिम्मेवारी दिइएको हमासका एक वरिष्ठ नेताले बीबीसीलाई बताएका छन्।
हानियाको हत्या भएपछि मध्यपूर्वमा तनाव चुलिएको छ। इरानल र उसका सहयोगीहरूले इजरेललाई दोष लगाउँदै प्रतिशोध लिने बताएका छन्। इरानले हानियाको मृत्युबारे टिप्पणी गरिसकेको छैन।
तस्बिर स्रोत,Getty Images
हमासमा सिन्वारलाई चरमपन्थी नेता मानिन्छ।
यसअघि गाजा क्षेत्रमा हमासको राजनीतिक एकाइ प्रमुख थिए। सन् १९६२ मा जन्मेका सिन्वार हमासको सुरक्षा सेवा ‘मज्द’का संस्थापक पनि हुन्।
मज्दले गाजामा आन्तरिक सुरक्षा हेर्छ। त्यसमा सन्दिग्ध इजरेली गुप्तचरहरूको अनुसन्धान गर्ने जस्ता कार्यहरू पर्छन्। उनी आफैँ पनि इजरेली गुप्तचर र सुरक्षा सेवाका अधिकारीहरूमाथि दृष्टि राख्छन्।
सिन्वार तीन पटक पक्राउ परेका छन्। सन् १९८२ मा इजरेली सैनिकले उनलाई पहिलो पटक पक्राउ गरेको थियो। त्यतिबेला उनलाई चार महिना जेलमा राखिएको थियो।
सिन्वार सन् १९८८ मा तेस्रो पटक पक्राउ परेका थिए। यसपछि उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो। उनी जेलमै रहेका समयमा हमासको क्षेप्यास्त्रले इजरेली सैनिक ग्लाड शालितको ट्याङ्क ध्वस्त पार्यो र ती सैनिकलाई हमासले बन्धक बनायो।
सन् २०११ मा इजरेलले आफ्ना एक सैनिकको रिहाइको बदलामा हमास र फतहका कैदीहरूलाई रिहा गरेको थियो। त्यसमा याह्या सिन्वार पनि परेका थिए।
इजरेली कैदबाट मुक्त भएपछि उनी हमासमा आफ्नो पुरानो स्थानमा फर्किए। सन् २०१७ मा सिन्वार गाजा क्षेत्रमा हमासको राजनीतिक विभाग प्रमुख बने।
अमेरिकाले उनलाई सन् २०१५ मा “अन्तर्राष्ट्रिय आतङ्ककारी” को सूचीमा राख्यो।
इस्माइल हानिया
तस्बिर स्रोत,Reuters
इरानमा उनको मृत्यु भएको हमासले पुष्टि गर्नुअघिसम्म इस्माइल हानियालाई उक्त समूहका मुख्य नेता मानिन्थ्यो।
उनको अर्को नाम अबु अल-अब्द हो। उनको जन्म प्यालेस्टिनी शरणार्थी शिविरमा भएको थियो। उनी सन् २००६ मा प्यालेस्टाइनका प्रधानमन्त्री नियुक्त भएका थिए।
सन् १९८९ मा इजरेलले उनलाई तीन वर्ष जेलमा राखेको थियो। यसपछि उनलाई हमासका धेरै नेताहरूसँगै इजरेल र लेबनन बीचको ‘नो-म्यान्स् ल्यान्ड’को रूपमा रहेको मार्ज अल-जुहुरमा निर्वासनमा पठाइयो।
आफ्नो निर्वासन पूरा गरेपछि उनी गाजा फर्किए। सन् १९९७ मा उनी हमास आन्दोलनका आध्यात्मिक नेता शेख अहमद यासिनको कार्यालयको प्रमुख नियुक्त भए। त्यसबाट उनको राजनीतिक हैसियत बढ्यो।
प्रधानमन्त्री नियुक्त भएको एक वर्षपछि प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणका प्रमुख महमूद अब्बासले उनलाई पदबाट बर्खास्त गरेका थिए।
इज्ज अल-दिन अल-कसम ब्रिगेडले गाजा क्षेत्र कब्जा गरेपछि अब्बासको फतह आन्दोलनका प्रतिनिधिहरू निष्कासन भएसँगै उनले पनि पद गुमाएका थिए। त्यस क्रममा एक सातासम्म चलेको भिडन्तमा धेरै मानिसको ज्यान गएको थियो।
हानियाले आफ्नो बर्खास्तीलाई असंवैधानिक भन्दै अस्वीकार गरे। उनले आफ्नो सरकारले नियमित कामलाई निरन्तरता दिने र प्यालेस्टिनी जनताप्रतिको आफ्नो जिम्मेवारीलाई नछोड्ने बताए।
त्यसपछि हानियाले फतहसँग मेलमिलापका लागि पटकपटक अपील गरेका थिए।
सन् २०१७ मा हमासको राजनीतिक विभाग प्रमुख निर्वाचित भएका उनलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा आतङ्कवादी घोषणा गरेको थियो।
गाजामा सम्भावित युद्धविरामको विषयमा हानियाले हमासको वार्ता टोलीको नेतृत्व गर्दै आएका थिए।
तेहरानमा भएको आक्रमणमा उनका एक अङ्गरक्षकको पनि मृत्यु भएको छ। इरानले आफ्नो अखण्डता र सार्वभौमसत्ता रक्षाका लागि कदम चाल्ने र उनको हत्याको प्रतिशोध लिने जनाएको छ।
रुस, चीन र टर्कीले उनको हत्याको निन्दा गरेका छन्। कतारले त्यसलाई तनावको खतरनाक वृद्धि भनेको छ।
मोहम्मद डेफ
तस्बिर स्रोत,Media sources
उनको पूरा नाम मोहम्मद दैयब अल-मसरी हो। उनले आफ्नो नाम अबु खालिद पनि राखेका थिए भने उनको बोलाउने नाम अल डेफ हो।
इजरेली सेनाले जुलाई १३ मा गाजा स्ट्रिपको खान यूनिसमा गरिएको एउटा हवाई आक्रमणमा डेफको मृत्यु भएको जनाएको छ। इरानमा इजरेलले गरेको भन्ठानिएको आक्रमणमा हमासका राजनीतिक विभाग प्रमुख इस्माइल हानियाको मृत्यु भएको भोलिपल्ट इजरेली सेनाले डेफको मृत्यु भइसकेको घोषणा गरेको हो। यसअघि अमेरिकाले पनि डेफको मृत्यु भइसकेको बताएको थियो।
यद्यपि हमासले उनको अवस्थाबारे केही बताएको छैन।
सन् १९६५ मा गाजामा जन्मिएका उनले हमासको सैन्य सङ्गठन इज्ज अल-दिन अल-कसम ब्रिगेडको नेतृत्व गर्छन्।
प्यालेस्टिनीहरू उनलाई “योजनाकार” का रूपमा र इजरेलीहरू उनलाई “द क्याट विथ नाइन लाइभ्स” भनेर चिन्छन्।
उनले गाजाको इस्लामिक विश्वविद्यालयबाट जीवविज्ञानमा स्नातक गरेका छन्। नाटक र अभिनयमा रुचि भएका उनले सुरुमा कलाकारहरूको एउटा समूह गठन गरेका थिए।
त्यहीँबाट हमासको स्थापना घोषणा भयो। उनले कुनै आनाकानीबिनै यो समूहमा सहभागी हुने निर्णय लिए।
उनलाई सन् १९८९ मा इजरेलले पक्राउ गरेको थियो। हमासको सेनाका लागि काम गरेको आरोपमा १६ महिना जेलमा बिताएका उनी पछि रिहा भए।
उनी जेलमा रहेका समयमा इजरेली सैनिकहरूलाई समाउने हमासभन्दा भिन्न अभियान सुरु गर्ने प्रतिबद्धता जनाएका थिए। तदनुरूप उनले अल-कसम ब्रिगेड गठन गरे।
उनी रिहा भएपछि इज्ज अल-दिन अल-कसम ब्रिगेड गठन भयो र संस्थापकका रूपमा अरू नेताहरूसँगै डेफ पनि देखिए।
डेफले हमास विद्रोहीहरूका लागि सुरुङहरू बनाउने कामको परिकल्पना गरे। ती सुरुङबाट उनीहरूले गाजाबाट इजरेल प्रवेश गर्ने बाटो बनाए।
उनी इजरेलमा एकैपटक ठूलो सङ्ख्यामा रकेट प्रहार गर्ने रणनीतिको पक्षमा छन्।
हमासका एक बम निर्माता मारिएपछि चलाइएको बदलाको अभियानमा ५० जना इजरेलीहरू मारिने गरी बम आक्रमण गरेको र तीन इजरेली सैनिकलाई नियन्त्रणमा लिएको जस्ता आरोप उनीमाथि लागेको छ।
इजरेलले सन् २००० मा उनलाई पक्राउ गरेको थियो। तर उनी ‘इन्तिफादा’ अर्थात् दोस्रो प्यालेस्टिनी विद्रोहका बेला इजरेलको हिरासतबाट उम्किन सफल भए। त्यसपछी उनले आफू कहाँ छन् भन्ने प्रमाण विरलै छोड्ने गरेका छन्।
उनका जम्मा तीन वटा तस्बिर छन्।
एउटा निकै पुरानो हो। अर्कोमा उनले मुकुन्डो लगाएका छन् भने तेस्रोमा उनको छायाँको तस्बिर मात्रै छ।
सन् २००२ मा उनको हत्या गर्ने केही प्रयासहरू भए। उनी जोगिए तर उनले एउटा आँखा गुमाए।इजरेलले उनले एउटा हात र खुट्टा पनि गुमाएको दाबी गर्दै आएको छ।
सन् २०१४ मा इजरेलले गाजा स्ट्रिपमा गरेको ५० दिन लामो आक्रमणमा पनि इजरेली सेनाले उनको हत्या गर्ने प्रयास गरेको थियो। उनी उम्किए पनि उनकी पत्नी र दुई सन्तानको ज्यान गयो।
डेफको अर्थ पाहुना हो। अर्थात् पाहुना एक ठाउँमा लामो समयसम्म बसिरहँदैन।
उनी इजरेलबाट हुन सक्ने हत्याको प्रयासबाट जोगिन सधैँ ठाउँ सरेर बस्ने गरेको ठानिन्छ।
मार्वान ईसा
तस्बिर स्रोत,Media sources
ह्वाइट हाउसले मार्च महिनामा इजरेली हवाई आक्रमणमा परेर मार्वान ईसाको मृत्यु भएको दाबी गरेको थियो। तर हमासले अझै उनको मृत्यु भएको पुष्टि गरेको छैन।
ईसालाई मोहम्मद डेफको दाहिने हात मानिन्थ्यो। उनी इज्ज अल-दिन अल-कसम ब्रिगेडका सहायक कमान्डर-इन-चीफ हुन् र हमास आन्दोलनको राजनीतिक र सैन्य एकाइका सदस्य थिए।
इजरेली सेनाले उनलाई प्यालेस्टाइनको पहिलो विद्रोहका बेला पक्राउ गरेको थियो। हमासका गतिविधिमा सक्रिय भएको आरोपमा इजरेलले उनलाई पाँच वर्षसम्म हिरासतमा राखेको थियो। उनी युवावस्थामै हमासमा संलग्न भएका थिए।
इजरेलले उनी बाँचुन्जेल हमाससँगको ‘विचारको युद्ध’ जारी रहने बताएको थियो।
ईसाले बास्केटबल खेलाडीको रूपमा पनि चर्चा कमाएका थिए। तर खेलकुद उनको पेसा बन्न सकेन किनभने इजरेलले उनलाई हमासमा सामेल भएको आरोपमा १९८७ मा गिरफ्तार गर्यो।
प्यालेस्टिनी प्रशासनले पनि उनलाई सन् १९९७ मा पक्राउ गरेको थियो।
सन् २००० ‘अल-अक्सा इन्तिफादा’ नामले चिनिने विद्रोह सुरु नभएसम्म उनी रिहा भएनन्।
जेलबाट रिहा भएपछि ईसाले इज्ज अल-दिन अल-कसम ब्रिगेडहरूमा सैन्य प्रणालीहरू विकास गर्न महत्त्वपूर्ण भूमिका खेले।
हमासमा उनको महत्त्वपूर्ण भूमिकाका कारण ईसाको नाम इजरेलले ‘मोस्ट वान्टेड’ भनिने खोजी गरिएका व्यक्तिको सूचीमा राखेको थियो।
सन् २००६ मा इजरेलले इज्ज अल-दिन अल-कसम ब्रिगेडका प्रमुख नेताहरूको बैठक चलिरहेका समयमा डेफसँगै उनको पनि हत्या गर्ने प्रयास गर्यो। उक्त आक्रमणमा उनी घाइते भएका थिए। तर उनीहरूलाई हत्या गर्ने इजरेली प्रयास सफल भएन।
इजरेली लडाकु विमानहरूले गाजामा सन् २०१४ मा आक्रमण गर्दा उनको घर ध्वस्त भएको थियो। त्यस बेला उनका एक भाइको मृत्यु भएको थियो।
सन् २०११ सम्म उनको अनुहार कसैले देखेका थिएनन्। त्यो वर्ष खिचिएको एउटा सामूहिक तस्बिरमा उनी देखिएका छन्।
यो तस्बिर इजरेली सैनिक ग्लाड शालितको रिहाइको साटो रिहा भएका प्यालेस्टिनी बन्दीहरूको स्वागत गर्ने क्रममा खिचिएको थियो।
उनलाई अबु अल-बारा भनेर पनि चिनिन्थ्यो। सन् २०१२ को ‘शेल स्टोन्स’ देखि २०२३ को ‘अल-अक्सा फ्लड’ जस्ता हमासका गतिविधिमा उनी संलग्न भएको इजरेली आरोप छ।
गाजाबाट इजरेली भूमिभित्र छिर्ने योजना बनाउने कार्यमा उनी संलग्न भएको इजरेलको धारणा छ।
खालिद मशाल
तस्बिर स्रोत,AFP
मशाल को पूरा नाम अबु अल-वालिद हो। उनको जन्म सन् १९५६ मा वेस्ट ब्याङ्कको सिल्वाड गाउँमा भएको थियो। उनी हमासका संस्थापकमध्ये एक हुन्।
उनले प्राथमिक शिक्षा आफ्नै जन्मस्थानमा प्राप्त गरे। पछि उनको परिवार कुवेत गयो र त्यहाँ उनले माध्यमिक तहसम्मको शिक्षा पूरा गरे।
मशाल सन् १९९६ देखि २०१७ सम्म हमासको राजनीतिक विभागका अध्यक्ष पनि थिए। सन् २००४ मा शेख अहमद यासिनको मृत्युपछि मशाललाई सो पद दिइएको थियो।
इजरेलको गुप्तचर सेवा मोसादले सन् १९९७ मा उनलाई निसाना बनाएको थियो।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको निर्देशनमा उनको हत्या गर्ने प्रयास गरिएको थियो। नेतन्याहूले मोसादका प्रमुखलाई मशालको हत्याको योजना बनाउन निर्देशन दिएका थिए।
मोसादका १० गुप्तचरहरू क्यानडाको नक्कली राहदानी लिएर जोर्डन प्रवेश गरेका थिए।
खालिद मशालसँग त्यति बेला जोर्डनको नागरिकता थियो। राजधानी अम्मानको सडकमा हिँड्दै गर्दा उनलाई विषाक्त पदार्थको सुई लगाइएको थियो।
जोर्डनका अधिकारीहरूले उनको हत्या गर्ने प्रयास भएको पत्ता लगाए। उनीहरूले यसमा संलग्न मोसादका दुई गुप्तचरलाई पक्राउ गरेका थिए।
त्यस बेला जोर्डनका राजा हुसेनले इजरेली प्रधानमन्त्रीसँग मशाललाई दिइएको विषाक्त पदार्थविरुद्धको औषधि मागेका थिए। सुरुमा अस्वीकार गरे पनि नेतन्याहूले जोर्डनलाई उक्त औषधि उपलब्ध गराए।
उनको हत्याको प्रयासले राजनीतिक विवादको रूप लियो। यसमा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले हस्तक्षेप गरेका थिए। उनले नेतन्याहूलाई औषधि दिन बाध्य पारेका थिए।
मशालले सन् २०१२ को डिसेम्बरमा पहिलो पटक गाजा क्षेत्रको भ्रमण गरेका थिए। उनले ११ वर्षको हुँदा प्यालेस्टाइन छोडेका थिए। त्यसपछि प्यालेस्टिनी क्षेत्रमा उनको त्यो पहिलो भ्रमण थियो।
रफाह नाकामा प्यालेस्टिनी नेताहरूले उनलाई स्वागत गरेका थिए। गाजा सहरमा पुगेपछि उनलाई स्वागत गर्न ठूलो सङ्ख्यामा प्यालेस्टिनीहरू सडकमा भेला भएका थिए।
महमूद जहार
तस्बिर स्रोत,Getty Images
जहारको जन्म गाजामा सन् १९४५ मा भएको थियो। उनका बुबा प्यालेस्टिनी र आमा इजिप्टेली थिए।
उनको बाल्यकाल इजिप्टको इस्माइलिया सहरमा बित्यो। उनले गाजामा माध्यमिक तहसम्मको शिक्षा हासिल गरेका थिए।
उनले सन् १९७१ मा कायरोको ऐन शम्स विश्वविद्यालयबाट चिकित्साशास्त्रमा स्नातक गरेका थिए। त्यसपछि १९७६ मा शल्यचिकित्सामा स्नातकोत्तर गरे। पढाइ सकेपछि उनले गाजा र खान यूनिसको अस्पतालमा काम गरे। राजनीतिक गतिविधिमा संलग्न भएका कारण पछि उनी त्यहाँबाट बर्खास्त भएका थिए।
जहारलाई हमासका एक मुख्य नेता मानिन्छ। उनलाई हमास आन्दोलनको राजनीतिक नेतृत्वको सदस्य मानिन्छ। सन् १९८८ मा हमासको स्थापना भएको छ महिनापछि महमूद जहारलाई छ महिनासम्म इजरेली जेलमा राखिएको थियो।
इजरेलले उनलाई सन् १९९२ मा अन्य नेताहरूसँगै मार्ज अल-जुहुरमा निर्वासन पठाएको थियो। उनी एक वर्ष त्यहाँ बसे।
सन् २००५ मा भएको निर्वाचनमा हमासले बहुमत प्राप्त गरेपछि जहारले प्रधानमन्त्री इस्माइल हानियाको सरकारमा विदेशमन्त्रीको रूपमा काम गरे। त्यसपछि राष्ट्रपति महमूद अब्बासले सरकार बर्खास्त गरेपछि प्यालेस्टिनीहरूबीच विभाजन निम्तियो।
इजरेलले सन २००४ मा जहारको हत्या गर्ने प्रयास गरेको थियो। गाजा सहरनजिकैको रिमालमा रहेको जहारको घरमा एफ-१६ लडाकु विमानले बम खसालेको थियो। त्यो बम पाँच क्विन्टलको रहेको बताइएको थियो। सो आक्रमणमा उनी सामान्य घाइते भए। तर उनका जेठा छोरा खालिदको मृत्यु भयो।
उनका अर्का छोरा होसाम पनि २००८ मा गाजाको पूर्वी क्षेत्रमा इजरेली सेनाको कारबाहीमा मारिएका थिए। सो हमलामा होसामसहित १८ जनाको मृत्यु भएको थियो। होसाम कसम ब्रिगेडका सदस्य थिए।
जहारले बौद्धिक, राजनीतिक र साहित्यिक कृतिहरू लेखेका छन्। यसमा ‘द प्रब्लम अफ आवर कन्टेम्पररी सोसाइटी… अ कुरानिक स्टडी’, ‘नो प्लेस अन्डर द सन’ समावेश छन्।
उनले बेन्जमिन नेतन्याहूको पुस्तकको जबाफमा ती पुस्तक लेखेका हुन्। उनले ‘अन द पेभ्मन्ट’ नामक उपन्यास पनि लेखेका छन्।
अब्दुल्लाह बर्गूटी
तस्बिर स्रोत,AFP
बर्गूटीको जन्म सन् १९७२ मा कुवेतमा भएको थियो। दोस्रो खाडी युद्धपछि सन् १९९० मा उनी जोर्डनमा बस्न गएका थिए।
उनले दक्षिण कोरियाको एउटा विश्वविद्यालयमा तीन वर्षसम्म इलेक्ट्रोनिक इन्जिनियरिङ अध्ययन नसक्दासम्म जोर्डनको नागरिकता लिएका थिए।
त्यहीँबाट उनले विस्फोटक पदार्थ बनाउन सिके। प्यालेस्टाइनमा प्रवेश गर्ने अनुमति पाएकाले उनले आफ्नो पढाइ पूरा गर्न सकेनन्। उनीसँग निकट मानिसहरू कसैलाई पनि बम निर्माण गर्न सक्ने उनको क्षमताबारे थाहा थिएन।
एक दिन उनले आफ्नो भाइ बिलाल अल बर्गूटीलाई पश्चिम तटीय दुर्गम क्षेत्रमा लिएर गए। त्यहाँ उनले आफ्नो सीप देखाए। बिलालले आफ्नो कमान्डरलाई आफूले देखेको कुरा बताए। अब्दुल्लाहलाई त्यसपछि इज्ज अल-दिन अल-कसाम ब्रिगेडमा सामेल हुन आमन्त्रित गरियो।
अब्दुल्लाह बर्गूटीले आफ्नो सहरको गोदाममा सैन्य उत्पादनका लागि विशेष कारखाना स्थापना गरेका थिए। उनलाई सन् २००३ मा इजरेली सुरक्षा बलले संयोगवश पक्राउ गरेको थियो। उनलाई तीन महिनासम्म सोधपुछ गरिएको थियो।
दर्जनौँ इजरेलीको मृत्युको लागि बर्गूटीलाई जिम्मेवार मानिन्छ। उनीमाथि दोस्रो पटक मुद्दा चल्दा मृतकका आफन्त पनि सुनुवाइमा उपस्थित थिए। उनलाई इजरेलको इतिहासमा सबैभन्दा लामो सजाय सुनाइएको थियो। उनलाई ६७ वर्ष आजीवन कारावास र ५,२०० वर्षको जेल सजाय सुनाइएको थियो।
उनलाई केही समय एकान्त कारागारमा राखिएको थियो। त्यसको विरोधमा उनले अनशन सुरु गरे। यसपछि उनको एकान्त कारावासको अन्त्य भयो।
उनले जेलभित्रै ‘प्रिन्स अफ द श्याडो’ नामक पुस्तक लेखेका थिए। यसमा उनले आफ्नो जीवन र अन्य कैदीहरूसँग मिलेर चलाएका अभियानबारे गरेका छन्।