काठमाडौंबाट १४९ यात्रु लिएर दुबईका लागि उडेको नेपाल वायुसेवा निगमको न्यरोबडी जहाज प्राविधिक समस्याका कारण भैरहवामा ग्राउन्डेड भएको छ।
६ दिनअघि चीनमा ६ करोड ६८ लाख रुपैयाँ खर्च गरेर मर्मत (फाइभ–सि–चेक) गरिएको सगरमाथा न्यरोबडी जहाज बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उड्न लागेको थियो। तालिका अनुसार, राति १०:३० बजे काठमाडौंबाट भैरहवा अवतरण गरेको जहाज त्यहाँबाट थप यात्रु लिएर दुबई जाने तयारीमा थियो।
तर, जहाजको इन्जिनमा “ओभर स्पिड प्रोटेक्सन” सम्बन्धी समस्या देखिएपछि चालकदल र इन्जिनियरहरूले सुरक्षालाई मध्यनजर गर्दै राति १ बजे विमान ग्राउन्डेड गर्ने निर्णय गरे। भैरहवा विमानस्थलमा निगमका सीमित कर्मचारी मात्र भएकाले राति नै अध्यागमन तथा विमानस्थल कार्यालयका कर्मचारीहरूलाई बोलाएर यात्रु व्यवस्थापन गरिएको थियो। नियमअनुसार, यात्रुहरूलाई बिहान ४ बजेसम्म भैरहवाका विभिन्न होटलमा स्थानान्तरण गरिएको थियो।














