मकवानपुर — लागुऔषध सेवन गरी नशाको तालमा हेटौंडा–१, चौकीटोलमा देवरले भाउजुको हत्या गरेको रहस्य खुलेको छ । २२ वर्षीय राहुल दासले बुधबार आफ्नी जेठी भाउजु ३५ वर्षीया गुडिया दासको खुकुरी प्रहार गरी हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरले राहुलसँग लिएको प्रारम्भिक बयान र उनको मेडिकल चेकजाँचबाट उनले लागुऔषध सेवन गरेको पुष्टि भएको छ।‘उनी लागुऔषध सेवनकर्ता रहेछन् । उनले भाउजुको हत्या गरेको स्वीकारेका छन्’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले बताए । राहुलले आफूलाई परिवारले घृणाको दृष्टिले हेर्ने गरेको पनि बयानमा बताएका छन् ।प्रहरी स्रोतका अनुसार उनले लागुऔषध सेवनका लागि भाउजुसँग पैसा माग्ने गरेका थिए । भाउजुले पैसा नदिने र कडाई गर्दा उनले आक्रोशमा खुकुरी प्रहार गरेको देखिएको छ । राहुलले माइलो दाई २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी घाइते बनाएका थिए।