विप्लव सहित ६ दलले आज एमसिसीविरुद्ध संसद भवन घेराउ
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध आन्दोलन घोषणा गरेका ६ कम्युनिस्ट पार्टी र दुई मोचाले आज काठमाडौं उपत्यकामा प्रदर्शन गर्ने भएका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले दिउँसो १२ बजे प्रदर्शन गर्ने भएका हुन्। नेताहरूका अनुसार माइतीघरबाट सुरु हुने प्रदर्शन स्रसद भवन नयाँबानेश्वरसम्म पुग्नेछ। यसबाहेक आजै देशभर प्रर्दशनको पूर्वनिर्धारित कार्यक्रम पनि छ। सरकारले एमसिसी संसद्बाट अनुमोदन गराउने तयारी थालेपछि ६ दल र दुई मोर्चा विरोधमा उत्रिएका हुन्।
प्रताप र प्राश्नाले गाए ‘लगायौ कस्तो मोहनी’
गायिका प्राश्ना शाक्य र प्रताप दासको युगल स्वर रहेको गीत ‘लगायौ कस्तो मोहनी’ सार्वजनिक भएको छ । सन्जित श्रेष्ठको शब्द, संगीत रहेको गीतमा सन्जल भण्डारीको एरेन्ज छ । भिडियोमा मोडेल गरिमा शर्मा र बिष्णु नेपालको अभिनय देख्न सकिन्छ । सन्जित श्रेष्ठको छायाङ्कन, विजेश पौडेलको सम्पादन र निर्देशन भिडियो छ ।
भिडियो चर्चित सांगीतिक समूह ‘द नेक्स्ट’ ले आफ्नो आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । ‘द नेक्स्ट’ले यसअघि पनि राम्रा राम्रा गीतको म्युजिक सार्वजनिक गर्दै आएको छ ।
सिद्धबाबा सुरुङमार्गका लागि छानियो चिनियाँ कम्पनी, ७ अर्ब ३४ करोड लागत
बहुचर्चित सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनी छनोट भएको छ । बुटवल-नारायणगढ सडक बिस्तारको काम गरिरहेको चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी’ ले नै सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का पाएको हो ।
सिद्धार्थ राजमार्गको पहिरोग्रस्त सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि गत जेठ ९ गते ग्लोबल टेण्डर आह्वान भएको थियो । सडक विभागका अनुसार सिद्धबाबाको सुरुङमार्ग निर्माणका लागि भएको ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ कबोल गरेको छ । यो प्राविधिक रुपमा पास भएर आर्थिक प्रतिष्पर्धा गरेका चार कम्पनीमध्ये सबैभन्दा कम रकमको कबोल अंक भएकाले कम्पनी छनोट भएको हो ।
गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माबीच चुनाव लक्षित बजेटबारे छलफल
गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ। गृह मन्त्रालयमा आज भएको छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी)का लागि आवश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सहसचिव डा भीष्मकुमार भुसालले जानकारी दिए।
सहसचिव डा भुसालका अनुसार अब गृह मन्त्रालयले बिहीबारसम्म चालुतर्फको समेत बजेट यकिन गरेर अर्थ मन्त्रालयमा पठाउनेछ । छलफलमा गृहसचिव टेकनारायण पाण्डे, अर्थसचिव मधु मरासिनीसहित गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौलालगायतको सहभागिता थियो। गृहमन्त्री खाँणले निर्वाचनको कामलाई घनिभूतरूपमा अगाडि बढाउन अर्थमन्त्री शर्मासँग छलफल गरेका हुन। अर्थमन्त्री शर्माले निर्वाचनमा अर्थ मन्त्रालयलाई परेको चापबारे अवगत गराउँदै अत्यावश्यक र गर्नैपर्ने विषयबारे जानकारी गराउन आग्रह गरेका थिए। गृहमन्त्री खाँणले अर्थ मन्त्रालयलाई परेको दबाबबारे गृह मन्त्रालय सचेत रहेको र नभई नहुने विषयवस्तुबारे अवगत गराइने जानकारी दिए।
अनुपम खेरले सार्वजनिक गरे नेपालमा सुटिङ भएको ‘उचाइ’ लुक्स
बलिउडका दिग्गज अभिनेता अनुपम खेर सामाजिक सञ्जालमा सक्रिय रहन्छन्। उनी प्रायः आफ्नो फ्यानका साथ व्यावसायिक जीवनसँग जोडिएका हरेक कुरा सेयर गरिरहन्छन् । यही क्रममा उनले आफ्नो इन्स्टाग्राममा आफ्नो नयाँ फिल्म ‘उचाइ’को सेटको एक बीटीएस तस्बिर सार्वजनिक गरेका छन्।
तस्बिरमा अनुपमलाई फरक लुक्समा देख्न सकिन्छ । अभिनेता ग्रे रंगको स्वेटर लगाएर अनुहारमा गम्भीर भाव व्यक्त गरेका छन्। ‘मलाई यो तस्बिर मनपर्छ । आशा छ कि तपाईंलाई पनि यो मनपर्नेछ। सुरज बडजात्याको उचाइ सेटबाट अभिनेता बोमन इरानीले लिएको तस्बिर’, उनले लेखेका छन् ।
विदेशी डलरको नेपाली भाउ आज कति?
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ३० पैसा र बिक्री दर ११९ रुपैयाँ ९० पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ २३ पैसा र बिक्री दर १३६ रुपैयाँ ९१ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ६६ पैसा र बिक्री दर १६२ रुपैयाँ ४८ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ २३ पैसा र बिक्री दर १२९ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
न बिर्से तिमीलाई’को नयाँ भर्सनमा पुरानो गायिकाको नामै उल्लेख नगर्नु दुखद्ः अन्जु पन्त
गायिका रचना रिमालको स्वरमा चर्चित गजल ‘न बिर्से तिमीलाई न पाएँ तिमीलाई’ को ‘नयाँ भर्सन’ सार्वजनिक भएपछि विभिन्न आलोचना भइरहेको छ।
विभिन्न टिकाटिप्पणी भइरहेका बेला सो गजलकी ओरिजिनिल गायिका अन्जु पन्तले पनि मुख खोलकी छन् । नयाँ भर्सन आउनु खुसीकै कुरा भए पनि यसअघिका गायक/गायिकाको नामै उल्लेख नगरी अफिसियल भनेर सार्वजनिक गरिनु दुखद् र अन्यायपूर्ण भएको उनको प्रतिक्रिया छ ।
सुनको भाउ बढ्यो
नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९३ हजार चार सय रुपैयाँ कायम भएको छ । मंगलबार तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य तोलाको ९२ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य प्रतितोलामा २० रुपैयाँले बढेको छ । सोमबार एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा एक हजार २८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
रोमालाई पराजित गर्दै कोपाको सेमिफाइनलमा पुग्यो इन्टर
इन्टर मिलान रोमालाई पराजित गर्दै कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार रातिको खेलमा इन्टरले रोमालाई २-० गोल अन्तरले पराजित गरेको हो । इन्टरको जितमा इडिन जेको र एलेक्सिस सान्चेजले १-१ गोल गरेका थिए ।
जेकोले खेलको दोस्रो मिनेटमा इभान पेरेसिकको पासमा गोल गरेका थिए । सान्चेजले ६८औं मिनेट अग्रता दोब्बर बनाए । पराजितसँगै जोसे माउरिन्होको रोमा बाहिरिएको छ ।














