सभामुखले बोलाएको सर्वदलीय बैठक सिंहदरवारमा सुरू
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सिंहदरवारमा सुरू भएको छ। सत्तागठबन्धनका सबै घटकका प्रमुख नेता उपस्थित रहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित छ।
आजको बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चा संसदीय दलका नेता दुर्गा पौडेल र नेमकिपा सांसद प्रेम सुवाल सहभागी छन्।
बैठकमा माओवादीको संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, परराष्ट्रमन्त्री नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाँणलगायत सहभागी छन्।
सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा
सोलुखोला जलाधारा क्षेत्रका जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालन आएको छ ।
नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रसारण लाइनलाई सोमबार बिहान ११.३० बजे चार्ज गरी सञ्चालनमा ल्याइएको छ । सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र टावरहरूको संख्या ३०२ वटा छ । सोलु करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत तिंलामा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी,८ एमभिए क्षमताको सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसन निर्माण सम्पन्न गरी ७ भदौ २०७६बाट सञ्चालनमा छ ।
मुस्लिम धर्मको अपमान गरेको भन्दै एक व्यक्तिमाथि भीड जाइलाग्दा कुटाई खाने व्यक्तिको मृत्यु
पाकिस्तानमा मुस्लिम धर्मको अपमान गरेको भन्दै एक व्यक्तिमाथि भीडमा आएका व्यक्तिहरुले कुटपिट गरेका छन्। अल्जाजिराका अनुसार पञ्जाब प्रान्तमा एक मानसिक अवस्था बिग्रिएका व्यक्तिले मुस्लिम धर्मग्रन्थ ‘कुरान’ जलाएका थिए। यही विषयमा भीडले केही नसोची उनीमाथि आक्रमण गर्दा उनको मृत्यु भएको हो। हालै शनिबार साँझ खनेवाल जिल्लामा ती व्यक्तिको भीडको आक्रमणबाट मृत्यु भएको हो। प्रहरी घटनास्थलमा पुग्दा मोहम्मद मुस्ताग नाम गरेका ती व्यक्तिलाई रुखमा बाँधिएको थियो। अचेत उनको अस्पतालमा मृत्यु भएको हो।
सेयर बजारको पहिरो रोकियो! साढे ३ अर्ब बढीको कारोबार
विगत केहिदिन यता लगातार घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज सम्हालिएको छ। नेप्से परिसचुक आज ०.०८ अंकले बढेर परिसुचक २७००.९८ को बिन्दुमा बजार बन्द भएको छ।
क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३६ अंकले मात्रै घटेको छ। यसदिन नेप्सेमा दिनभर साढे ३ अर्ब बढीको कारोबार भयो।
वीरगन्ज हुँदै नेपाल भित्रियो ६५ अर्बको इन्धन
देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पर्दाथको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य वृिद्ध भएको छ। गत आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनाको तुलनामा चालू आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा रु ३३ अर्ब ४८ करोड २९ लाख बढी मूल्यको १० लाख सात हजार ६९० लिटर इन्धन बढी आयात भएको हो। पेट्रोलियम पर्दाथअन्तर्गत डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धनलगायत पर्दछन्।
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको ऐसेलुखर्क पुछारबाट सोमबार हलेसीतर्फ जाँदै गरेको स १ त ७७३३ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौैले नवलपुर निवासी चालक सिटामोल भन्ने शेखर मगरको मृत्यु भएको हो । ट्याक्टर पल्टिएर सडकबाट करिब ७५ मिटर तल खस्दा चालक मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कामका लागि हिँडेको ट्याक्टर हलेसी-धितुङ-रेग्मीटार सडकखण्डको कालिकादेवीथान नजिकै काभ्रा खोलामा दुर्घटनामा परेको महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले बताए ।
कीर्तिपुर अस्पतालमा बाल चिकित्सा वार्डको उद्घाटन
नेपालका लागि जर्मनीका राजदूत डा.थमस प्रिन्जले कीर्तिपुर अस्पतालमा निर्माण गरिएको बाल चिकित्सा वार्डको आज उद्घाटन गरेका छन् । नेपालमेड इभि जर्मनीको सहयोगमा सो वार्डको निर्माणपछि बालबालिकाले सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन् ।
सो अवसरमा राजदूत प्रिन्जले जर्मनी सरकारले विकास सहयोग अन्तर्गत नेपालका विभिन्न परियोजना लामो समयदेखि नेपालको ऊर्जा क्षेत्र, स्थानीय सरकारको सवलीकरण तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको बताए ।
सत्यमोहन जोशी अस्पतालबाट घर फर्किए
शताब्दी पुरुष सत्यमोहन जोशी ६ दिनको उपचारपछि घर फर्किएका छन् । गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरको किस्ट हस्पिटलमा भर्ना गरिएको थियो ।
उनलाई स्वासप्रस्वासमा अप्ठयारो र पिसाबमा संक्रमण देखिएका कारण समस्या भएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए । उनी सोमबार दिउँसो हस्पिटलबाट ‘डिस्चार्ज’ भएका हुन् ।
सङ्गीतकार अविरललाई एकैबेला पितृ–मातृशोक
लोकप्रिय सङ्गीतकार आशिष अविरलले परिवारमा अकल्पनीय वियोगको सामना गर्नुपरेको छ। उनले बुबा बितेको सातादिन नबित्दै आमालाई पनि गुमाएका छन। गलकोट नगरपालिका–७ मल्म निवासी ८१ वर्षीय बुबा बलहादुर दिवङ्गत भएपछि किरियामै रहेका बेला अविरललाई मातृशोक परेको हो। उनकी आमा चित्रकुमारीको ७९ वर्षको उमेरमा आज बिहान निधन भएको छ। श्रीमान् बितेको दुई दिनमै मष्तिष्कघात भएपछि चित्रकुमारीलाई उपचारका लागि पोखरा पुर्याइएको थियो। औषधोपचारले निको नभएर स्वास्थ्य जटिल बनेपछि उनलाई आइतबार घर ल्याइएको थियो।
हारबाट जोगियो बार्सा
लुक डि योङले इन्जुरी समयमा गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाएका छन् । आइतबार राति भएको खेलमा बार्सिलोनाले एस्पानियोलसँग २-२ गोलको बराबरी खेलेको हो । खेलको शुरुवातमा नै पेड्रीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको अन्त्यतिर सर्जी डार्डरले बराबरी गोल फर्काए । खेलको ६४ औँ मिनेटमा राउल डि टोमासले गोल गर्दै एस्पानियोललाई अग्रता दिलाए ।