चैत्र २०, २०७८। राजधानीका सरकारी पेट्रोल पम्पले मात्रै तेल बिक्री गरेपछि आइतबार सर्वसाधारणको लामो लाइन लागेको छ । हिजो मात्रै आयल निगमसँगको वार्तामा पेट्रोलियम व्यवसायीहरुले डिपोबाट तेल उठाउने र आजबाट बिक्री वितरण गर्ने सहमति गरेका थिए । व्यवसायीहरु तेल उठाउन सहमति भए पनि आइतबार ट्याङ्कर चालकहरुले आफ्ना मागहरु अगाडि सार्दै ढुवानी अवरोध गरेपछि डिपोबाट पम्पहरुमा तेल आउन सकेको छैन ।
यो समाचार तयार पार्दा सम्म थानकोट डिपो क्षेत्रमा चालकहरुसँग वार्ता चलिरहेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । ट्यांकर चालकहरुले केही सेवा सुविधा माग गरेको उनले बताए । यसअघि पेट्रोलियम व्यवसायीले मूल्य वृद्धिअनुसार कमिसन बढाउनुपर्ने माग गर्दै शुक्रबार डिपोबाट तेल उठाएनन् । शनिबार सार्वजनिक बिदा पर्यो ।
शनिबार साँझ मात्रै व्यवसायीले आज आइतबारबाटै तेल उठाउनेगरी निगमसँग सहमति गरेका थिए । तर चालकको अबरोधले फेरि तेल सहज हुन केही समय लम्बिने भएको छ ।