आइतबार, चैत २७, २०७८काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारकै कारण बैंकमा लगानीयोग्य पैसा नभएको बताएका छन् । वर्तमान अर्थतन्त्रबारे आफ्नो धारणा सार्वजनिक गर्न नेकपा (एमाले)ले गरेको पत्रकार सम्मेलनमा खतिवडाले बैंकमा लगानीयोग्य पैसा नहुनुको कारण सरकारको गैरकानुनी गतिविधि र गलत क्रियाकलाप रहेको बताए ।
“सरकारका मन्त्रीहरु कमाउ धन्दामा लिप्त छन् । उनीहरु ठेक्कापट्टाको सेटिङमा लागेका छन् । मन्त्रीहरुले निर्वाचनका लागि खर्च चाहियो भनेर खुलमखुला हिँडिरहेका छन्,” डा. खतिवडाले पत्रकार सम्मेलनमा भने, “खाद्य बस्तुको असाध्यै धेरै मूल्य बृद्धि भएको छ । पेट्रोलियम पदार्थको मूल्यबृद्धिले सर्वसाधारणको जनजीवन कष्टकर भएको छ । चालु खर्च ८ प्रतिशतले बढ्ने देखिएको छ । यो अन्तर्राष्ट्रिय रुपमै अर्थतन्त्रमाथि खतराको घण्टी हो । त्यही खतराको संकेत हामीले गरिरहेका छौँ ।”
उनले सरकार नै सम्पत्ति शुद्धीकरणमा लागेका कारण बैकिङ प्रणालीबाट पैसा अन्त्यै गएको पनि दाबी गरे । “बैंकिङ प्रणालीमा अहिले लगानीयोग्य रकम छैन । त्यो किन भयो भने बैंकिङ प्रणालीमा तस्करीको पैसा आउने भएन । कमिसनको पैसा आउने भएन । क्रिप्टो करेन्सिसहितका क्षेत्रमा लगानी भयो । यसले कर्जा प्रवाह बढेर गयो तर बैंकमा पैसा फिर्ता आएन,” खतिवडाले भने, “सरकारले एलसी खोलेर अनावश्यक वस्तुको आयातमा अनुमति दियो । त्यो अवैध रुपमा निर्यात गर्दा त्यो पैसा पनि बैंकमा फिर्ता आएन । त्यसैले बैंकमा लगानीयोग्य रकमको अभाव भएको हो ।”
उनीभन्दा अगाडि बोलेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले संरक्षित तस्करीका लागि एलसी खोल्ने अनुमति दिएको टिप्पणी गरेका थिए । सुपारी, केराउ, छोडासहितका वस्तुको आयातमा एक खर्बभन्दा बढीको आयात भएको उनले बताए ।