१४ फागुन, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिरमा इको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

नारच्याङस्थित शिव मन्दिर जाँदै गरेका यात्रु सवार भ्यान सडकबाट करिब १५० मिटर तल कालीगण्डकी नदीको किनारमा खस्दा दुर्घटना भएको हो।

बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत सुकेबगरबाट नारच्याङतर्फ जाँदै गरेको बा. ६च ४९४४ नम्बरको भ्यान बिहीबार दुर्घटनाग्रस्त भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ।

दुर्घटनामा चालकसमेत रहेकी अन्नपूर्ण–४ घरापकी करिब ४० वर्षीया सुनदेवी गौचन (सरिता)को घटनास्थलमै मृत्यु भएको प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए।

गम्भीर घाइते रुपा पुन, नमिता चोचाङ्गी, र विष्णुकुमारी बुढाथोकीलाई उद्दार गरी उपचारका लागि पोखरा अस्पताल पठाइएको छ।

यस घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेल नेतृत्वको टोली घटनास्थलमा पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here