१४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गर्दैछन्।
तराई-मधेश जागरण अभियानअन्तर्गत विराटनगरमा रहेका प्रचण्ड सुदूरपश्चिम प्रदेशका सांसदहरूलाई भेट्न काठमाडौं आएका हुन्। उनका सचिवालयका अनुसार उनी बुधबार नै फर्किनेछन् र बिहीबार सुनसरीमा आयोजना हुने अभियानका कार्यक्रममा सहभागी हुनेछन्।
माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा लामो समयदेखि विवाद छ। १२ माघ २०८० मा बहुमत सांसदहरूले खगराज भट्टलाई हटाएर मानवबहादुर धामीलाई संसदीय दलको नेता चयन गरेपछि उत्पन्न विवाद अझै समाधान भएको छैन।
समस्या समाधानका लागि खगराज भट्टलाई संसदीय दलको नेता भन्दा उच्च वरीयतामा राख्ने निर्णय भए पनि सहमति जुट्न सकेको छैन। अध्यक्ष प्रचण्ड भने खगराजलाई नै दलको नेता बनाउनुपर्ने पक्षमा छन्।
बुधबारको छलफल पनि संसदीय दलको नेतृत्व विवादकै विषयमा केन्द्रित हुने नेताहरूले बताएका छन्।
सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रका ११ जना सांसद छन्। ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस पहिलो दलका रूपमा १८ सांसदसहित अग्रस्थानमा छ। माओवादी र एमाले दुवैका ११-११ जना सांसद छन्। त्यस्तै, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का ७, एकीकृत समाजवादीका ४, राप्रपाका १, र एक जना स्वतन्त्र सांसद रहेका छन्।





