प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सुरक्षित मतदान, सुरक्षित मतगणना र विश्वसिलो मतपरिणामको लक्ष्यका साथ निर्वाचनको सम्पूर्ण तयारीमा जुटेको बताएका छन।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा आजदेखि सुरु भएको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी)को शुभारम्भ गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनको तयारीका क्रममा सामग्री र जनशक्ति व्यवस्थापन, सुरक्षा प्रबन्ध र अनुगमनको मिहिन विश्लेषण गरेर तत्काल सम्बोधन गर्नुपर्ने विषयमा संयन्त्र विकास गरिएको बताए।
निर्वाचन सुरक्षा र अनुगमनसम्बन्धी निर्देशिकाबमोजिम आयोगका सचिवको नेतृत्वमा गृह मन्त्रालयका सहसचिव, चार वटै सुरक्षा निकायका राजपत्राङ्कित प्रथम श्रेणीसरहका प्रतिनिधित्वमा केन्द्रको स्थापना भएको हो ।





