यतिबेला निर्वाचनको माहोलले पुरै देश तातेको छ । विभिन्न राजनीतिक दल, तिनका उम्मेदवार र कार्यकर्ता मत माग्दै सर्वसाधारणको घरदैलो चाहर्न थालेको एक महिना पुग्न थालिसकेको छ । मत माग्न घरघरै हात जोड्दै र खुट्टा ढोग्दै उम्मेदवार घरदैलोमा पुगेका छन् ।
त्यति मात्र होइन उम्मेदवारहरू खेतबारीमासमेत पुग्न थालेका छन् । सत्ता गठबन्धन तथा एमालेको मुख्य प्रतिस्पर्धा रहेको पर्वतमा दुवैतर्फका उम्मेदवारले चुनाव प्रचार अभियानलाई तीव्रता दिइरहेका छन् । त्यसबाहेक स्वतन्त्र उम्मेदवार पनि भ्याएसम्मको प्रचार गरिरहेका छन् ।
उम्मेदवार घरदैलो गरिरहँदा मतदाता भने वर्षभरि खाने खेती थन्क्याउने चटारोमा छन् । यतिबेला उम्मेदवारको नमस्कार फर्काउनसमेत किसानलाई समय छैन । ‘समय होस् पनि कसरी ?’ फलेवास नगरपालिका–६ का सुवास लामिछानेले भने, ‘वर्षभरि खाने खेती थन्क्याउने यही बेला हो । उनीहरूको पछि लागेर हिँडेर यहाँ कसले गर्दिन्छ । चुनावपछि सबैको अवस्था थाहा भएकै को । हामी मर्नै लागेर भेट्न गए पनि मुन्टो बटार्दै बाटो लाग्छन् ।’
दैलामुनिको बारीमा सिँचाइको माग गरेको पुस्तौं बित्दासमेत टेरपुच्छर नलगाएका नेताप्रति उनले निराशा प्रकट गरे । ‘बाह्रै महिना सिँचाइ सुविधा हुँदो हो त कति परिवारले तरकारी खेती लगाएरै आम्दानी गर्थे,’ लामिछानेले भने, ‘पाँच वर्षमा एकपटक भोट माग्न आउँदा गर्दिन केही भन्दैनन् । चुनाव जितेपछि पारा उही हो । अब कसको विश्वास गरौं ?’ सिँचाइ अभावकै कारण कैयौं युवा विदेश पलायन भएको उनले सुनाए । खानीगाउँमा सिँचाइको सुविधा सहज भए कैयौं परिवारले तरकारी र नगदेबालीबाट लाखौं आम्दानी गर्न सक्ने स्थानीय पंकज क्षेत्री बताउँछन् ।
उम्मेदवार मत माग्दै घरमा पुग्दा कुश्मा–१० की सारदा अधिकारी बाँदर लखेट्न खेतमा दौडिंदै थिइन् । असारभरि दुःख गरेर लगाएको धान पाक्ने बेलामा एक दिन मात्रै रुग्न छोड्यो भने बाँदरले छिनमै सखाप पारिदिन्छ । गत भदौ अन्तिम साता पसाउन लागेको धानमा एकदिन पसेको बाँदरको बथानले आधाभन्दा बढी नोक्सान गरिदिएको उनी सुनाउँछिन् । ‘लौ न बाँदरबाट खेती जोगाउने उपाय सिकाइदिनोस् भन्दै कैयौंपटक वडा र नगरपालिकालाई गुहार्यौं,’ अधिकारीले भनिन्, ‘भोट माग्ने बेलामा हुँदैन र सक्दैनौं केही भन्दैनन् । चुनावपछि गर्ने केही होइनन् ।’ नजिकैको मल्याङ्दी खोलामा पुलको माग गरेको पुस्तौं बित्दसमेत मागको सुनुवाइ नभएपछि बर्खामा पारितर्फको खेतमा आउजाउ गर्न र खेतीबाली लगाउन उस्तै हैरानी खेप्नुपरेको उनको गुनासो छ ।




