१२ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानून र राष्ट्रको हित विपरीत कुनै पनि काम नगर्ने बताएका छन् ।

सोमबार सचिवहरूसँगको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले सुशासन आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गरेका हुन् । उनले भने, ‘म आफू राष्ट्र र कानून विपरीतको कुनै काम गर्दिनँ । तपाईंहरू पनि यस्तो कार्यमा नलाग्नुहोला ।’

प्रधानमन्त्रीले सचिवहरूलाई कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्न पनि आग्रह गरेका छन् । उनले भने, ‘असल नियतले काम गरेको विषयमा निर्दोष मानिसलाई कहीं कतै समस्या भएमा त्यसको जिम्मेवारी मैले लिनेछु । तपाईंहरू ढुक्कले काम गर्नुस् ।’

नयाँ समीकरणको सरकार थप ऊर्जा, नयाँ सोच, उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोहीअनुरूप अगाडि बढ्न निर्देशन दिए । ‘राजनीति र प्रशासक सरकारका अभिन्न अंग हुन्,’ उनले भने, ‘हालसम्म यहाँहरूबाट सहयोग प्राप्त हुँदै आएको छ । अझै थप जाँगर र जोसका साथ काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवाप्रवाह गर्न जोड दिंदै प्रधानमन्त्रीले कुनै पनि सरकारी सेवा लिन नागरिकले भोगेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here