काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महिलालाई सेनामा भर्ती गराउन आफूले पहल गरेको बताएका छन्।
मंगलबार अनेरास्ववियु काठमाडौंको कार्यक्रममा बोल्दै नेपालले मनमोहन अधिकारी सरकारका बेला आफू रक्षा मन्त्री हुँदा महिलालाई सेनामा भर्ती गराएको दाबी गरे।
‘नेपाली सेनामा महिलालाई भर्ती गरिँदैनथ्यो। कुनै सांस्कृतिक कार्यक्रम देखाउनुपर्यो भने केटीको पोशाक लगाएर केटाहरू आएका छन्। किन यस्तो भएको भनेर सोधेको हामीकहाँ एउटा पनि महिलाहरू सेनामा छैनन् भने। किन भनेर सोध्दा महिलाहरूले कहाँ युद्ध गर्न सक्छन् । बन्दुक समाउन सक्छन् भनेर ठान्दा रहेछन्।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘अनि मैले भने लिबियामा मुस्लिम देशमा महिलाहरू युद्धमा लडिरहेको पाइन्छ भने संसारका धेरै देशमा महिलाहरू युद्धको मोर्चामा खटिएका पाइन्छन् भने नेपाली महिला कमजोर छैनन् भर्ना गर्न सुरुवात गर्नूस् भनेँ।
महिलाको भर्ती सुरु गरिएपछि सेनाको सांस्कृतिक कार्यक्रममा महिलाको रोल महिलाले नै खेलेको र पुरुष आउट भएको उनले बताए।




