कपडा किन्न चीनतर्फ जाँदै गरेको ट्रकबाट २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा (अमेरिकी डलर र युरो) बरामद गरिएको छ। सोही ट्रकका गाडीधनी तथा चालक ‘फुच्चे’ उपनामले चिनिने कुसाङ लामा पक्राउ परेका छन्।
प्रहरीका अनुसार, उक्त रकम चीनबाट सुन ल्याउन प्रयोग गर्न लागिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ निवासी कुसाङ काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ मा परिवारसहित डेरा गरी बस्दै आएका थिए। उनले चलाइरहेको ना ७ ख १६५२ नम्बरको ट्रकलाई सोमबार राति ११ बजे टोखा नगरपालिका–२ झोरबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
रसुवागढी नाका हुँदै चीन लैजान अवैध विदेशी मुद्रा तस्करी भइरहेको सूचना पाएपछि ट्रक जाँच गर्दा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।