सल्यान जिल्लाको कालिमाटी गाउँपालिका–२ खैरीगाँडामा बुधबार राति भीषण आगलागी हुँदा दुई घरगोठ पूर्ण रूपमा नष्ट भएका छन्।

४० वर्षीय केशलाल ओली र ५२ वर्षीय प्रेम विकका घरगोठमा आगलागी हुँदा घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुडा लगायतका सामग्री जलेर नष्ट भएका छन्। केशलाल ओलीको गोठमा रहेका एक गोरु, ११ खसीबाख्रा, र २४ भन्दा बढी कुखुरा समेत आगोको चपेटामा परेर जलेका छन्।

भाग्यवश, परिवारका सबै सदस्यहरू समयमै बाहिर निस्कन सफल भएका छन्, जसले ठूलो जनधनको क्षति हुनबाट जोगाएको छ। आगलागीका कारण केशलाल ओलीलाई करिब तीन लाख र प्रेम विकलाई साढे तीन लाख रुपैयाँ गरी कुल ६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिएका छन्।

त्यस्तै, प्रेम विकको घरमा भएको १७ हजार रुपैयाँ नगद, दुई हाँस, ६ वटा कुखुरा, अन्नपात, लत्ताकपडा, र भाँडाकुडा समेत आगलागीमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here