काठमाडौँ । काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । अन्य सुरक्षा निकायका समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि अहिले काठमाडौँ उपत्यका सहित देशभर नै जनजीवन सामान्यतर्फ अघि बढेको हो ।
आगजनी गरिएका कार्यालयका कर्मचारीहरु पनि ससरफाइ, कागजात सङ्कलन क्षति भएको संरचना व्यवस्थापन र निर्माणमा पनि सक्रिय भएका छन् । कार्यालय सञ्चालनका लागि आवश्यक कामहरु गरिरहेका छन् ।
काठमाडौँ उपत्यका तथा जिल्लाहरुमा अहिले नेपाली सेनाको नेतृत्वमा अन्य सुरक्षा निकायसँगको समन्वयमा शान्तिसुरक्षा प्रभावकारी बनाइएको छ । उपत्यकामा अत्यावश्यक कामका लागि हिँड्डुलमा कुनै समस्या देखिएको छैन । तर अनावश्यक रुपमा हिँड्ने तथा भेला हुने कार्यलाई पूर्ण रुपमा निषेध गरिएको छ ।
निषेधाज्ञा तथा कर्फ्यू समय अत्यावश्यक सेवाका एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारीसाधनहरू सञ्चालन गर्न सकिने सेनाले जानकारी दिएको छ ।
उक्त समयमा सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीले आफ्नो परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्ने छन् ।
यस्तै, आन्तरिक तथा अन्तरराष्ट्रिय उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न पनि सक्ने सेनाले स्पष्ट गरेको छ । उपत्यकामा आवश्यक सहायताका लागि नजिकमा रहेका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न अनुरोध पनि गरिएको छ ।