२२ असोज, गुल्मी । गुल्मीको तम्घासदेखि सिमलटारीसम्मको मदन भण्डारी राजमार्ग अन्तर्गत चार स्थानमा पक्की पुल निर्माण कार्य सम्पन्न भएको छ । पुल निर्माणपछि वर्षातको समयमा पनि सवारी आवागमन सहज भएको छ ।
६ वर्षअघि कालोपत्र गरिएको राजमार्गको हुलाके, धनार्जी, फुलबारी र घमिरका खहरे खोलामा पुलको अभावमा सवारी साधन र पैदल यात्रुलाई समस्या हुने गर्थ्यो । प्रत्येक वर्षातमा खोलामा पानी बढ्दा यात्रुलाई जोखिमपूर्ण यात्रा गर्नु पर्ने अवस्था थियो ।
तर हालै सम्पन्न पक्की पुल निर्माणसँगै सवारी साधन अवरोधविना आवत–जावत गर्न थालेका छन् । यस वर्षको वर्षातमा पनि सवारीसाधन नियमित रूपमा चलिरहेका छन् । जसले स्थानीयवासी तथा यात्रुलाई ठूलो सहजता प्रदान गरेको छ ।
विगतका दिनमा पक्की पुल नहुँदा धेरै सवारीसाधान र यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता अहिले अन्त्य भएको इस्मा ६ का गोर्खाबहादुर नेपाली बताए । खेतमा जान, बजारमा किलमेल गर्न जान समेत पहिले समस्या रहेको उनले बताए ।