काठमाडौं, २०८२ असोज २३ गते, बिहीबार (९ अक्टोबर २०२५) — नेपालकै सबैभन्दा पुरानो र प्रभावशाली सुसमाचारवादी संस्था नेशनल क्रिश्चियन फेलोशिप नेपाल (NCF Nepal) ले बिहीबार पुतलीसडकस्थित बेथ शालोम चर्चमा विशेष साधारण सभा सम्पन्न गरेको छ।
वि.सं. २०१७ (सन् १९६०) मा स्थापना भएको एनसीएफ नेपालले प्रार्थना र एकताको भावनामा सम्पन्न उक्त सभामा आगामी राष्ट्रिय प्रतिनिधि सम्मेलन तथा अधिवेशनका तयारीका लागि महत्वपूर्ण निर्णयहरू गरेको छ।
सभाको प्रमुख निर्णय अनुसार सात सदस्यीय निर्वाचन मण्डल (Election Commission) गठन गरिएको छ, जसले अधिवेशनका लागि नेतृत्व हस्तान्तरण प्रक्रियालाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्नेछ।
सुरुवाती प्रस्तावमा पास्टर फिलिप (बलराम) सुबेदीलाई संयोजकको जिम्मेवारी दिने प्रस्ताव गरिएको थियो। तर उहाँले उमेर र स्वास्थ्य अवस्थाका कारण उक्त जिम्मेवारी अस्वीकार गर्नुभएकोले, सभाले पास्टर चन्द्रमान नेपालीलाई निर्वाचन मण्डलको अध्यक्षको रूपमा नियुक्त गरेको छ।
निर्वाचन मण्डलमा हालसम्म निम्न सदस्यहरू चयन भएका छन्:
-
पास्टर शेरबहादुर ए.सी., महासचिव, NCF नेपाल
-
पास्टर पावल बस्नेत
-
पास्टर नवराज पाण्डे, अध्यक्ष, गण्डकी प्रदेश
-
अधिवक्ता केदारबहादुर खड्का
त्यसैगरी बाँकी तीन सदस्यहरू अन्य प्रदेशका अध्यक्षहरूमध्येबाट चयन गर्ने निर्णय सभाले गरेको छ।
यसअघि NCF नेपालको ६२औं वार्षिक साधारणसभा तथा सम्मेलन वि.सं. २०७८ साल चैत २२–२४ गते (५–७ अप्रिल २०२२) मा होटल स्टार, रत्ननगर, टाडी, चितवनमा सम्पन्न भएको थियो। सो सम्मेलनको अन्तिम दिन पास्टर हनोक (सूर्यबल) तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको थियो।
संस्थाको विधान २०५४ को परिच्छेद ४, दफा १३ अनुसार कार्यसमितिको कार्यकाल सामान्यतया तीन वर्षको हुने व्यवस्था छ। उक्त अवधि पूरा भएसँगै, नवगठित निर्वाचन मण्डलले अब आगामी अधिवेशनका लागि नयाँ नेतृत्व चयनको सम्पूर्ण प्रक्रिया अगाडि बढाउनेछ।
एनसीएफ नेपाल परिवारले निर्वाचन मण्डलका अध्यक्ष र सदस्यहरूलाई हार्दिक बधाई तथा प्रार्थनापूर्ण शुभकामना व्यक्त गरेको छ, ताकि उनीहरूले पवित्र आत्माको मार्गदर्शनमा, ईमानदारी र निष्ठाका साथ आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सकून्।