काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर जनतामा भ्रम फैलाइएको बताएका छन् ।
सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्दै उनले एमसीसीबारे नियोजित रूपमा भ्रम फैलाइएको बताएका हुन् ।
‘एमसीसीबारे नियोजित ढंगले भ्रम छरिएको छ । एमसीसी कुनै देशविरुद्ध प्रयोग हुँदैन,’ महतले भने, ‘केही नेताहरूले दोहोरो चरित्र देखाएका छन् । यो विशुद्ध आर्थिक सहायता हो । यति ठूलो आर्थिक सहायता अहिलेसम्म नेपालले पाएको थिएन ।’
विदेशी सहयोगलाई लिएर नेपाली कांग्रेसको फरक फरक धारणा नहुने भन्दै एउटै मापदण्ड र धारणा रहेको महतले बताए । उनले एमसीसी सैन्य परियोजना भएको भन्दै गरिएको भ्रम सरासर झुटो भएको पनि बताए । नेपाली कांग्रेस आगामी दिनमा जनतामाझ गएर एमसीसीबारे अहिले चलाइएका भ्रमबारे प्रस्ट्याउने उनको भनाइ छ ।
नारायणकाजी श्रेष्ठ, भीम रावल, गिरिराजमणि पोखरेल जस्ता नेताहरू हिजो सरकारमा रहँदा सबै प्रक्रियामा सहभागी भए पनि अहिले आएर दोहोरो मापदण्ड देखाएको महतले आरोप लगाए । उनले नेपाली जनतालाई भ्रममा पार्ने काम कसैले नगर्न नेताहरूलाई सचेत गराए ।














