श्रीलङ्का सन् १९४८मा स्वतन्त्र भएयताकै खराब आर्थिक सङ्कटसँग जुझिरहेको छ । लगभग आधा दिन लोडसेडिङ, खाद्यान्न, औषधि अनि इन्धनको अभावका कारण सर्वसाधारणहरू क्रुद्ध भएका छन् ।
खाद्यान्न र इन्धन अभावको विरोधमा प्रदर्शन चर्किएपछि श्रीलङ्कामा सरकारले ३६ घण्टाका लागि कर्फ्यु घोषणा गरेको थियो । यसअघि कर्फ्युको अवज्ञा गर्दै सर्वसाधारणहरूले सडक प्रदर्शन गरेका थिए ।
त्यसको अघिल्लो दिन राष्ट्रपति गोटाबय राजपक्षको निवास नजिकै झडप भएको थियो । उनको कोलम्बोस्थित निवासबाहिर विरोध प्रदर्शन शान्तिपूर्ण रूपमै सुरु भएको थियो ।
यसअघि आइतबार राजधानी कोलम्बोमा सरकारको विरोध गरेको आरोपमा ६५० भन्दा बढी जनालाई पक्राउ गरिएको थियो । आर्थिक मन्दीको विरोधमा उनीहरूले कर्फ्यु तोडेर सरकारविरुद्ध र्याली निकालेका थिए । यसैबीच श्रीलंकामा सामाजिक सञ्जाल प्लेटफर्महरू पनि प्रतिबन्धित छन् ।