काठमाडौं। युक्रेनमा आक्रमण थालेको दुई महिना पुगेपछि रुसले शक्ति प्रदर्शन गर्न परमाणु सम्पन्न अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ।
यो शक्तिशाली क्षेप्यास्त्रको परीक्षणसँगै राष्ट्रपति भ्लादमिर पुटिनले दुश्मनले रुसविरुद्ध कुनै पनि कदम चाल्न अगाडि अब दुईपटक सोच्न बाध्य हुने बताएका छन्।
रोयटर्सका अनुसार ‘सरमत अन्तरमहादेशीय क्षेप्यास्त्र’को परीक्षण रुसले पहिलोपटक गरेको हो।
यो क्षेप्यास्त्र उत्तर पश्चिमी रुसको प्लेसेत्स्कबाट छाडिएको थियो। ६ हजार किलोमिटरको दुरी पार गर्दै यो क्षेप्यास्त्र लक्ष्यमा पुगेको थियो।
युक्रेनमा आक्रमण सुरु भएयता पुटिनले परमाणु हतियारसहितको डिटरेन्ट फोर्सलाई तयार रहन निर्देशन दिएका थिए।
रुसले विदेशी सेनाहरु युक्रेनको भूमिमा पुगेको खण्डमा आफूले परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिँदै आएको छ। यसबीचमा परमाणु क्षमताको क्षेप्यास्त्र परीक्षण गरेपछि रुसले साँच्चै यो हतियार प्रयोग गर्नसक्छ भन्ने संकेत दिएको छ।
यद्यपी युक्रेन मामिलामा पश्चिमा राष्ट्रहरुको हस्तक्षेप नभएसम्म रुसले यस्ता हतियार प्रयोगमा नल्याउने पनि बताउँदै आएको छ।





