नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन अघि (वैशाख २६ गते) एउटा भविष्यवाणी गरे । उनले असार १७ गते नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार नरहने र गठबन्धनसमेत भत्किने दाबी गरे ।

स्थानीय चुनावको मुखमै ओलीले देउवा सरकार र गठबन्धनको भविष्यवाणीबारे कतिपयले उडाएर टारे भने कतिपयले उत्साहका साथ लिए । तर स्थानीय चुनाव निम्तिएकाले सबै निर्वाचनतर्फ नै केन्द्रित भए ।

तर, असार १७ गते आइपुग्दा न देउवा सरकार ढल्यो, न ढल्ने सङ्केत मिलेको छ । सत्तारुढ गठबन्धन पनि कायमै छ । देशकै ठुलो पार्टीका अध्यक्ष र पूर्व प्रधानमन्त्रीजस्तो व्यक्तिले कुन आधारमा मिति नै तोकेर त्यस्तो भविष्यवाणी गरे भन्ने प्रस्ट हुन सकेको छैन ।

राजनीतिक दलका नेताहरू वैचारिक धरातल शून्य भएपछि यस्तै उडन्ते कुरा गरेर बस्ने राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउँछन् । ‘नेपालका राजनीतिक दलका नेताहरू वैचारिक रूपमा टाट परेको लक्षण हो । विचारमा टाट पल्टेको मान्छेले शिवाय अरूले यस्तो बोल्ने कुरै होइन,’ रातोपाटीसँग श्रेष्ठले भने, ‘केपीजीले जे मुखमा आयो त्यही बोलेको हो ।’

केपी ओलीले बोल्नका लागिमात्रै असार १७ गतेका लागि भविष्यवाणीको कुरा गरेको श्रेष्ठले बताए । ‘उहाँले ज्योतिषसँग सोधेर पनि बोलेको होइन, ज्योतिष विद्यामा पनि त्यस्तो हुँदैन,’ श्रेष्ठले भने, ‘वैचारिक रूपमा नेताहरू कति गरिब छन् भन्ने प्रमाण हो यो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here