काठमाडौं
उपत्यकाका अस्पतालहरुमा एडिनो भाइरस संक्रमित बालबालिकाको संख्या बढ्दै गएको छ । बालरोग विशेषज्ञहरु भने यस्तो भाइरसको संक्रमण बर्सेनि हुने गरेको भन्दै नआत्तिन सर्वसाधारणलाई सुझाव दिन्छन् ।
यो भाइरसबाट सबै उमेर समूह संक्रमित हुन सक्ने उनले बताए । ‘यो भाइरस हरेक वर्ष देखिने गर्छ,’ उनी भन्छन्, ‘जुनसुकै भाइरल इन्फेक्सनले रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा बढी संक्रमण हुन्छ ।’
दुई वर्ष यता कोरोनाभाइरस र हाल विश्वमा मङ्कीपक्सको चर्चा भइरहँदा एडिनो भाइरस संक्रमित पनि बढ्न थालेकाले जनमानसमा यसका बारेमा चिन्ता र चासो बढ्नु स्वाभाविक भएको उनले बताए । कन्ति बाल अस्पतालमा दुई साता यता ज्वरो, रुघाखोकी, आँखा रातो हुने, पातलो दिसा आउने बालबालिकाको संख्या बढेको जानकारी दिँदै परीक्षणबाट एडिनो भाइरस पुष्टि भएको उनले बताए ।
के हो एडिनो भाइरस ?
यो भाइरस पनि अन्य भाइरसजस्तै संक्रमण भइसकेपछि ज्वरो, रुघाखोकी ल्याउने गर्छ । ‘व्याक्टेरियल ज्वरो हो भने एन्टिवायोटिक औषधि दिनुपर्ने हुन्छ । भाइरल ज्वरो हो भने ज्वरो कम गर्न सहयोगमात्रै गर्ने हो । अभिभावकहरुले बच्चाको खानपानमा जोड दिनुपर्छ,’ उनले भने ।
एडिनो भाइरस संक्रमण भएपछि भाइरल ज्वरो आउने उनको भनाइ छ । ‘हामी सबैजनाले बुझ्ने कुरा, रुघाखोकी भनेको इन्फ्लुएन्जा भाइरस, राइनो, एडिनो लगायतका भाइरसको संक्रमणबाट लाग्छ,’ उनले भने, ‘भाइरल ज्वरो आउँदा सामान्यतया १०० देखि १०३ डिग्रीसम्म ज्वरो आउँछ । अलिअलि नाकबाट पानी आउने, रुघा लाग्ने खालका समस्या हुन्छ ।’
एडिनो भाइरसका लक्षण
–ज्वरो आउने
–नाकबाट अलिअलि पानी बग्ने,
–खोकी लाग्ने
–बच्चालाई खाना खान मन नलाग्ने
–ज्यान दुख्ने
–कसैको आँखा रातो हुने
–कसैकसैलाई झाडापखाला पनि लाग्ने
–पेट दुख्ने





