काठमाडौं । संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको नागरिकता विधेयकको भविष्य के हुने भन्ने अझै निश्चित भइसकेको छैन । सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको आज १५ दिन पुगेको छ । गत २० भदौमा नागरिकता विधेयक शीत्ल निवास पठाइएको थियो ।
तर, राष्ट्रपति भण्डारीले भने आफूले केही विषयमा सच्याउनुपर्ने सन्देशसहित विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । तर, प्रतिनिधिसभा र राष्ट्रिय सभाले भने एक अक्षर पनि संशोधन नगरी विधेयक हुबहु पारित गरी फेरि पठाएपछि राष्ट्रपति असन्तुष्ट छिन् । उनले विधेयक ‘होल्ड’ मा राख्ने मनस्थिति बनाएको स्रोतले बतायो ।
सत्तारुढ गठबन्धनको शीर्ष नेताको मंगलबार बस्ने बैठकमा नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरे के गर्ने भन्ने विषयमा छलफल हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जाने चेतावनी दिइसकेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अब आउने नयाँ राष्ट्रपतिले पनि पहिलेकै थिति बसाल्ने र त्यसले कार्यपालिका र शीतल निवासबीच द्वन्द्व सुरु हुने बताएका छन् ।
सत्तारुढ नेपाली कांग्रेसका नेताहरू भने नागरिकता विधेयकबारे खुलेर बोलेका छैनन् । तर एमालेले भने नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न नहुने धारणा राख्दै आएका छन् ।





