मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले देश अहिले चुनावमय भएको छ । राजनीतिक दल, उम्मेदवार र कार्यकर्ताहरू आआफ्नो पार्टीका उम्मेदवारलाई चुनाव जिताउन मतदाताको घरदैलोमा व्यस्त छन् ।
निर्वाचनका लागि सर्वसाधारणसँग मत माग्न ठूलादेखि साना नेताहरू आआफ्नो निर्वाचन क्षेत्रमा व्यस्त छन् । यस्तैगरी आफ्नो निर्वाचन क्षेत्रमा व्यस्तमध्येका एक नेता हुन्– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ।
तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका पौडेल २०७४ को आम निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार किसान श्रेष्ठसँग पराजित भएका थिए । यसपालि चुनाव जित्ने लक्ष्यका साथ मैदानमा खटिएका पौडेलसँग तनहुँको दमौलीस्थित निवासमा पुगेर रातोपाटीका लागि शिव सत्याल र सुवास श्रेष्ठले कुराकानी गरेका छन्
चुनावी प्रचार प्रसारका लागि गाउँगाउँ जानुभएको छ, मतदाताको प्रतिक्रिया कस्तो पाउनुभयो ?
जनप्रतिनिधिहरू आएनन् भन्ने जनताको गुनासो छ । चुनाव जितेर जान्छन्, फेरि फर्केर आउँदैनन् भन्ने गुनासो छ । अर्काे कुरा, बाटो भएन, सडक कालोपत्रे भएन, धारा जीर्ण भयो भनेका छन् । कहीँ रोजगारी छैन भन्छन्, कहीँ के छैन भन्छन् । जनताले आफ्ना गुनासा राखेका छन् । समस्या देखाएका छन् ।
यसपालि जनताले मबाट आशा गरेका छन् । अरूले ढाँट्ने मात्रै हुन्, गरे यसैले गर्छ भन्ने तनहुँको जनतामा परेको छ । तनहँुका जनताले मलाई माया गरेको पनि पाएको छु । सत्ता गठबन्धनको पक्षमा अत्यन्त सशक्त जनमत भएको पाएको छु ।





