पोखरा ।
पोखरामा आइतबार भएको विमान दुर्घटनामा हालसम्म ६८ जनाको शव भेटिएको छ भने ४ जनाको अवस्था अज्ञात छ । उनीहरुबारे खोजी कार्य तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनामा परेको थियो । उक्त विमानमा चालकदलका ४ जनासहित ७२ जना सवार थिए ।
‘अहिलेसम्म ६८ जनाकोमात्रै शव भेटिएको छ । बाँकी ४ जनाको अवस्था पत्ता लगाउन पनि हामी लागिपरेका छौं,’ जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक जिल्ला अधिकारी अनिल शाहीले भने ।
उद्धारमा समस्या भएपछि क्रेनको प्रयोग गरिएको छ भने गोताखोरको प्रयोग भइरहेको छ । शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
अस्पताल स्रोतका अनुसार हालसम्म ३८ जनाको सनाखत भएको छ । ‘सनाखत नभएका व्यक्तिहरुलाई आझै काठमाडौं हेलिकप्टरबाट लगेर डीएनए परीक्षण गरिनेछ,’ अस्पताल स्रोतले भनेको छ ।





