‘दशरथ चन्द र गंगालाल श्रेष्ठलाई राति १० बजेतिर लरीमा हालेर प्याफलको बाटोबाट शोभा भगवती लगिएको थियो । गंगालालको घर बाटैमा पर्थ्यो । लरीबाट गंगालालले आफ्नी श्रीमतीलाई हसिना ! हसिना ! भन्न भ्याए ।’ चन्द र श्रेष्ठलाई गोली हान्ने नरशमशेरले आफ्नो आत्मकथामा लेखेका छन् ।
माघ १९९७ मा शहादत प्राप्त गर्नेमध्ये सबैभन्दा कान्छा (२२ वर्षका) थिए श्रेष्ठ । उनीसँगै पक्राउ परेका गोविन्दप्रसाद उपाध्यायले गंगालालका लागि हसिना कति प्यारी थिइन् भनेर वर्णन गर्दै लेखेका छन्- हसिना उनको जीवनको अति प्यारो शब्द थियो । त्यो शब्दभित्र उनकी प्यारी हसिना थिइन् । हसिना उनको दिलको प्रेम र ममताकी मूर्ति थिइन् । १५ माघ (१९९७) मा गंगालाल मारिनुभन्दा दुई दिन अगाडि माघ १३ गते हसिना सुत्केरी भएकी थिइन् । आफू बुवा भएको खबर सुनेका गंगालालले छोराको नाम ‘शशि’ राख्नु भनेर जेलबाट सन्देश पठाएका थिए ।
राणा शासनविरुद्ध संगठित भएर लागेको आरोपमा मारिने गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्द सबैले प्रेममा वियोग भोगे । गंगालालबाहेक तीन जनाका प्रियसीहरूले प्रेम वियोग भोग्नुपरेन, किनभने उनीहरू १५ माघ १९९७ भन्दा अगाडि नै बितिसकेका थिए । कलकत्ता-नेपाल (काठमाडौं) आउजाउ गरिरहेका धर्मभक्त माथेमा सबभन्दा पहिला पक्राउ पर्ने नेपाल प्रजापरिषदका सदस्य थिए । चन्द्रशमशेरकै पालामा कलकत्ता भन्सारमा जागिर पाएको माथेमा परिवार उतै थियो । धर्मभक्त काठमाडौंमा आउँदा फुपूको घरमा बस्थे । २ कात्तिक १९९७ को बिहान फुपूकै घरमा पक्राउ परे उनी ।
१९९४ माघमा धर्मभक्तकी श्रीमतीको मृत्यु भयो । त्यसबेला छोरी रेणु माथेमा साढे दुई वर्षकी थिइन् । इतिहासकार गौतमका अनुसार श्रीमतीको मृत्युपछि ‘होलटाइमर’ भएर राणा विरोधी अभियानमा लाग्न धर्मभक्तले साढे दुई वर्षकी छोरीलाई कलकत्तामै छाडेर आए ।
जुद्धशमशेरको आदेशमा १३ माघको राति उनलाई सिफलमा झुन्ड्याइयो । सद्गत गर्नलाई काठमाडौंमा उनको परिवार थिएन । कलकत्तामा पनि राणा सरकारको आग्रहमा अंग्रेज सरकारले उनको परिवारलाई थुनामा राखेको थियो ।
धर्मभक्तकी फुपूकी छोरी सूर्यलक्ष्मीलाई उद्धृत गर्दै इतिहासकार डा. गौतम लेख्छन्- नातेदारहरू पनि उनको लाश छुन तयार भएनन् । हामीहरू घरमा आइमाई मात्र थियौं । हाम्रो घरमा भात पकाउने र धर्मभक्त माथेमाको सेवा गर्ने गरेका लमजुङका एक जना शिवचन्द्र घिमिरे थिए । घिमिरे बाजे नै उनको अन्तिम कार्य गर्न तयार भए । घिमिरेले केही साथी बटुलेर अन्तिम संस्कार गरे ।
ज्वाईं-जेठान शहीद
फरक राजनीतिक संगठन भएका धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीबीच ज्वाईं-जेठानको नाता थियो । नेपाल प्रजापरिषद् गठन भएको एक वर्षपछि ६ मंसिर १९९४ मा धर्मभक्तकी बहिनी मेनकादेवीसँग शास्त्रीको विवाह भएको थियो । शास्त्रीले त्यही वर्ष गंगालाल श्रेष्ठ, केदारमान व्यथित आदिलाई मिलाएर ‘नेपाल नागरिक अधिकार समिति’ बनाएका थिए ।
नेपाली भाषा प्रकाशिनी समितिमा जागिर खाइरहेका शास्त्री राजनीतिक अधिकार समिति बनाएपछि अंग्रेज विरोधी अभियान चलाइरहेका महात्मा गान्धी र सुभाषचन्द्र बोसलाई भेट्न भारत गए । उनले गान्धी र बोसलाई भेटेको कुरा त्यहाँका पत्रपत्रिकाले महत्वका साथ छापे । नेपाल फर्किएपछि जागिर खोसेर शास्त्रीलाई नजरबन्दमा राखियो ।
लामो समय नजरबन्दमा परेका शास्त्रीले ‘आफू भोकले मर्न लागेको र आफूमाथि न्यूनतम मानवीय व्यवहार गर्नुपर्ने भन्दै निवेदन दिएको’ भारतको जनता पत्रिकाले छापेको छ ।
माग सुनुवाइ नभएपछि शास्त्रीले असनमा आमसभा गरेर राणा सरकारको विरोध गरे । त्यो कार्यक्रममा केदारमान व्यथितले हातमा पानको बिडा लिएर भने, ‘यहाँ उपस्थित भएकाहरूमा कोही आमाको सपुत छोरा छ भने यहाँ आई यो पान खाई भाषण गरोस् !’ भन्दै चुनौती दिए ।
आमाको मृत्युमा बरखी बारिरहेका गंगालाल श्रेष्ठले चुनौती स्वीकार्दै व्यथितको हातबाट पान लिए र राणा शासनविरुद्ध कडा भाषण गरे । यो घटनापछि पक्राउ परेका शास्त्रीलाई तीन वर्ष कैद सजाय सुनाइयो । कैद सजाय पूरा भइसके पनि उनलाई रिहा नगरी फाँसीमा चढाइयो ।
शास्त्रीलाई जेल सजाय हुँदा मेनकादेवी गर्भवती थिइन् । इतिहासकार डा. राजेश गौतमका अनुसार शास्त्री जेल परेको केही दिनमा नै मेनकादेवीले छोरी पाइन्, तर सात दिनमै छोरीको मृत्यु भयो । त्यसको करिब एक महिनामा मेनकादेवीको पनि मृत्यु भयो । गौतम लेख्छन्- मेनकादेवीले मृत्यु अगाडि पतिसँग भेट्ने अन्तिम इच्छा व्यक्त गरेकी थिइन् । यस विषयमा राणा सरकारसँग अनुरोध समेत गरिएको थियो, तर अनुमति दिइएन ।
प्रेमिकाको जुठो बार्ने दशरथ चन्द
२ कात्तिक बिहान ८ बजेतिर पकनाजोलको मावली घरबाट पक्राउ परे दशरथ चन्द । पक्राउ पर्दा उनले लगाएको पहिरनको वर्णन गर्दै इतिहासकार डा. गौतम ‘अमर शहीद दशरथ चन्द र नेपालको प्रजातान्त्रिक आन्दोलन’ पुस्तकमा लेख्छन्- कृष्णबहादुर थापा (पक्राउ गर्न गएका मान्छे) घर घेरेर बसिरहे । केही समयपछि दशरथ चन्द डम्बरकुमारी खास्टो ओढेर निस्किए ।
पक्राउ पर्दा ओढेर आएको त्यो खास्टो उनले प्रेमिकाबाट पाएको अन्तिम निशानी थियो । १५ माघ १९९७ मा गंगालाल श्रेष्ठसँगै मारिंदा पनि उनले त्यही खास्टो ओढेको चन्दसँगै पक्राउ परेका चन्द्रमान सैंजुको भनाइ उद्धृत गर्दै गौतमले लेखेका छन् ।
चन्द बैतडीबाट १९८८ तिर काठमाडौं पसेका थिए । त्यो बेला राणाहरूले झर्रा ठकुरीलाई दरबारमा राखेर छोरी दिने चलन थियो । त्यही चलनअनुसार कमाण्डर इन चिफ रुद्रशमशेरले चन्दलाई आफ्नो चारबुर्जा दरबारमा राखेका थिए ।
रुद्रशमशेरको दरबारमा उनले प्रेमिका पनि भेट्टाए, रुद्रकै छोरी जुलिया । त्यहीं उनले धर्मभक्त माथेमालाई पनि भेटे । दरबारभित्र दशरथ चन्दलाई प्रेमपत्र पठाउँथे ।
रुद्रशमशेरका नाति, जुलियाका भदा पुरुषोत्तमशमशेर जबराको किताब ‘श्री ३ हरूको तथ्य वृत्तान्तमा’उल्लेख भएअनुसार चन्दले सानो महारानी (रुद्रशमशेरकी नातिनी, पुरुषोत्तमशमशेरकी बहिनी) मार्फत दुईवटा प्रेम पत्र जुलियालाई पठाएका थिए रे !
चन्द र जुलिया दूरबीनबाट एकअर्कालाई हेरेर रमाउँथे । सुरतबहादुर शाहको ‘सुदूरपश्चिममा उदाएका अमर नक्षत्र’ किताबका अनुसार, जुलिया चारबुर्जा दरबारको आफ्नो खोपीबाट दूरबीनबाट दशरथ चन्दलाई नियाल्थिन् । सो कुरा आफ्ना मावलीतर्फका नातेदार गल्कोटे राजा भरत बमलाई बताएपछि चन्दले पनि एउटा दूरबीन पाए । त्यसरी दुवै जना दूरबीनबाट एकअर्कालाई हेर्दै अनेक इशाराबाट प्रेम प्रकट गर्न थाले ।
दशरथ चन्द र जुलिया राणाको विवाह पनि गराउन खोजिएको थियो, तर दुई पटक मिति तोकेर पनि जुठो परेका कारण त्यसो हुन नसकेको देवीप्रसाद ओझाको किताब ‘अमर शहीद दशरथ चन्द’मा उल्लेख छ ।
५ चैत १९९० मा जुद्धशमशेरले रुद्रशमशेरको सम्पूर्ण सम्पत्ति हरण गर्दै काठमाडौंबाट पाल्पा धपाए । बुवासँगै जुलिया पाल्पा गएपछि चन्दसँग विछोड भयो ।
इतिहासकार डा. गौतमका अनुसार, चन्द जुलियाको प्रेममा कतिसम्म समर्पित थिए भने जुद्धका छोरा बहादुरशमशेरले आफ्नी छोरी दिने प्रस्ताव गर्दा उनले इन्कार गरे । उनी लेख्छन्- बहादुरशमशेरले उनलाई दरबारमा राखी आफ्नी छोरी दिने विचारले बोलाएका थिए । तर, रुद्र शमशेरकहाँ बस्दा उनकी छोरी जुलियासँग प्रेम बसिसकेकाले उनी बहादुरशमशेरकहाँ गएनन् ।
रुद्रको परिवार पाल्पा धपिएपछि पनि चन्द र जुलियाबीच पत्र-संवाद भइरहन्थ्यो । १९९५ या ९६ सालमा जुलियाले आफ्नो प्रेमको निशानी स्वरुप डम्बरकुमारीलाई खास्टो पठाइन् । त्यसको केही दिनमै क्षयरोगका कारण जुलियाको मृत्यु भयो । त्यो खबर पाएपछि चन्दले १३ दिनसम्मै जुठो बारेर बसे ।
डा. गौतमका अनुसार, रुद्रशमशेरको पाल्पा पलायन र चारबुर्जा दरबार जुद्धका छोरा बहादुरशमशेरको भएपछि दशरथ चन्द आफ्नो मामाघर (कान्छी आमाको माइतीघर) पकनाजोल बस्न थालेका थिए । उनले त्यहीं जुलियाको जुठो बारेका थिए । त्यसपछि कामको खोजीमा बारा पुगेका उनीसँग १९९१ पुसमा टंकप्रसाद आचार्यसँग भेट भयो । आचार्य पनि कामको खोजीमा बुबासँग बाराको बरैया पुगेका थिए ।
आचार्यलाई उद्धृत गर्दै डा. गौतमले लेखेका छन्- साँझको बेला एक छिनपछि सोलो हृयाट लगाएको हात्ती चढेको एक व्यक्ति आइरहेको देखा पर्यो । उक्त व्यक्ति हात्तीबाट ओर्लेपछि चिनाजानी भयो । उनी बैतडी निवासी दशरथ चन्द थिए । दशरथ र मेरो आँखा जुध्नासाथ मलाई किन हो अनौठो आत्मीयताको अनुभव भयो ।
यही भेटमा आचार्य र चन्दबीच राणाशासन विरुद्ध संगठित हुने योजना बन्यो । माल अड्डामा काम गर्ने आचार्यका बुबालाई राणाहरूले अनियमितताको आरोप लगाएर प्रताडित गरेका थिए ।
माथेमाको जस्तै चन्दका पनि काठमाडौंमा दाजुभाइ थिएनन् । ६ माघमा फाँसीको सजाय सुनाइएपछि उनले जेल सफा गर्न आउने राममाया च्यामिनीलाई ‘म मरेपछि तिमी रोइदिनू’ भनेका थिए । च्यामिनीसँग पनि कुराकानी गरेका गौतम लेख्छन्- मेरा साथीहरूलाई मारेपछि रुने उनीहरूका आफन्त थुप्रै छन् । तर, मेरा लागि रुने कोही छैनन् । त्यसैले म मरेपछि तिमी रोइदेऊ है राममाया भनेर चन्दले भनेका थिए ।
१५ माघ १९९७ को राति साढे १ बजेतिर दशरथ चन्दलाई र २ बजेतिर गंगालाललाई शोभा भगवतीमा गोली हानेर मारियो । चन्दको देहसँगै जुलियाको प्रेम निशानी डम्बरकुमारी खास्टो पनि गोलीले छियाछिया भएको थियो ।





