काठमाडौं ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका एक युवकले पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको छ । श्रीमती घाइते छिन् ।
स्थानीय ३० वर्षीय भानुभक्त विकले आइतबार अपराह्न पाँच बजेतिर श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर जलाएका थिए । त्यसपछि भारततर्फ भागेका उनलाई प्रहरीले गएराति साढे १ बजेतिर नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।
कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुवेदीका अनुसार भानुभक्तले एक वर्ष अगाडिदेखि नै श्रीमती गंगालाई कुटपिट गर्दथे । आइतबार पनि बिहानैदेखि दुई जनाबीच झगडा भएको थियो । त्यसपछि गंगा आमाजूको घरमा गएर बसेकी थिइन् ।
बच्चाको कम्मरभन्दा माथिको भाग जलेको थियो । श्रीमती गंगाको पनि घाँटी, हात, कान लगायतका भाग जलेको छ । प्रहरीका अनुसार गंगाको शरीरको करिब २० प्रतिशत भाग जलेको छ ।
घटनाबारे जानकारी पाएलगत्तै वडा अध्यक्ष हरि कठायत र उपमेयर सुवेदीले कोहलपुर नगरपालिकाको एम्बुलेन्सबाट उनीहरुलाई सुरुमा नेपालगञ्ज मेडिकल कलेज पुर्याएका थिए । त्यहाँ उपचार सम्भव नहुने भएपछि नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको थियो ।





