काठमाडौं । बलात्कारका आरोपीलाई राष्ट्रिय टिममा समावेश गरेको भन्दै समाजिक सञ्जालमा नेपाल क्रिकेट संघ क्यानको विरोध सुरु भएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले #BycottCAN अभियान चलाएका छन् । उनीहरुले भोलि शनिबार दिउँसो १ बजे माइतीघरमा भेला भएर क्यानको विरोधमा प्रदर्शन गर्न आह्वान पनि गरेका छन् ।
तुल्सीराम भुषालले क्यानले बलात्कार जस्तो जघन्य अपराधमा आरोपितलाई राष्ट्रको प्रतिनिधित्व गराउन खोजेको भन्दै प्रधानमन्त्रीलाई मेन्सन गरेर लेखेका छन्, ‘क्रिकेटका मुलिहरु त नाङ्गै हिँडे @PM_nepal_ सरकार कता छ ?’
ट्वीटरमा सोमेशले बन्द प्रशिक्षणमा सन्दिपसँगै रहेका अरु १९ जना खेलाडीलाई प्रश्न गर्दै लेखेका छन्,’नेपाली क्रिकेट टिममा परेका १९ जना खेलाडीलाई प्रश्न: तपाँईहरुलाई अन्य देशसँग खेल्दा हामीले किन समर्थन गर्ने ? (कि त तपाँईहरु बलात्कार आरोप को पक्षमा हुनुपर्छ कि विरोधमा… बीचको बाटोको सुविधा छैन यो मुद्दामा !)’
बलात्कारका आरोपीसँग खेल्न सक्दैनौँ भन्ने खेलाडी कोही रहेनछन् भन्दै आदित्यले ट्वीट गरेका छन्, ‘नेपाली क्रिकेट टोली र क्यान बहिष्कार गरौँ। एउटा बलात्कार आरोपितलाई टिममा राख्ने कुराको विरोध गर्न नसक्नेहरुले जताबाट जे जितेर ल्याए नि काम छैन ।’





