विराटनगर : अपाङ्गता भएका व्यक्तिहरुका लागि एकदिवसीय प्रेरक कक्षा सञ्चालन गरिएको छ। फाउण्ड परियोजना विराटनगरको आयोजना र द लेप्रोसी मिसन नेपालको सहकार्यमा सोमबार विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुका लागि एकदिवसीय प्रेरक कक्षा सञ्चालन गरिएको हो।
अपाङ्गता भएका व्यक्तिहरुलाई राष्ट्रको आर्थिक गतिविधिसँग जोड्न सञ्चालनमा आएको द लेप्रोसी मिसन नेपालले स्वरोजगार र औपचारिक रोजगारमा जोड्दै आइरहेको छ। यसका लागि यो संस्थाले आर्थिक अनुदान, शिपमूलक तालिम दिँदै आइरहेको छ।
संस्थाबाट अनुदान लिएर गएका सेवाग्राहीहरुले योजनाअनुसार काम गरेका छन् या छैनन्, वर्तमान अवस्थामा चुनौती के कस्ता छन्? भन्ने विषयमा रहेर छलफल गर्न कार्यक्रम आयोजना गरिएको द लेप्रोसी मिसन नेपालका कोशी प्रदेश प्रमुख विपिन दासले जानकारी दिए।
उनका अनुसार संस्थाबाट अनुदान लिएर गएका ४० जना लाभग्राहीहरुलाई कार्यक्रममा निम्त्याइएको थियो। सहभागीहरुको समस्या, चुनौतीको विषयमा बुझ्न र उनीहरुको व्यवसायमा कसरी दिगोपना दिन सकिन्छ भन्ने विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको उनले बताए।
‘जति पनि अपाङ्गता भएका व्यक्तिहरु बिउपुँजी अनुदानको रुपमा लिएर जानुभएको छ, वर्तमान अवस्थामा के कस्तो गर्दै हुनुहुन्छ? कस्तो खालका चुनौती भोग्दै हुनुहुन्छ‚ ती चुनौती एकअर्कामा आदानप्रदान गर्नुहुन्छ, त्यहीँबाट समाधान निस्किन्छ,’ उनले भने, ‘उहाँहरुको व्यवसायलाई कसरी दिगोपना दिन सकिन्छ त्यसैको लागि अझ बुझने गरी भन्नुपर्दा उहाँहरुलाई थप प्रेरणा दिनु पनि यो कार्यक्रम आयोजना गरिएको हो।’
कार्यक्रममा मोरङ, सुनसरीबाट सहभागिता जनाएका थिए। उनीहरुले द लेप्रोसी मिसन नेपालले अनुदानको रुपमा दिएको बिउपुँजीले थप केही गर्न सक्ने हौसला प्रदान गरेको अनुभव राखेका थिए।





