काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले चाँडै मौद्रिक नीति खुकुलो बनाउने अपेक्षा आफूले राखेको बताएका छन्।
मंंगलबार राष्ट्रिय सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारेको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

बैंकको ब्याजदर घटेसँगै व्यापारको लागि ऋण लिनेहरूको लागत कम हुने र व्यापार व्यवसाय फस्टाउने उनको भनाइ छ। उनले सरकारको तर्फबाट पनि पूँजिगत खर्च हुन नसक्नु र बैंकिङ क्षेत्रबाट पुँजी परिचालन चाहे अनुसारको नहुँदा अर्थतन्त्रमा केही समस्या सिर्जना भइरहेको बताए। उनले लक्ष्यअनुसारको आर्थिक वृद्धिका लागि पुँजीगत खर्चको प्रभाव बढाउन आवश्यक रहेको बताए।

अर्थमन्त्री महतले आगामी वर्षको बजेट सिमित वर्गलाई मात्रै समेटेर नल्याउने स्पष्ट पारे । आगामी वर्षको बजेट एउटा वर्ग समूहलाई मात्रै लक्षित गरी नल्याउने प्रतिवद्धता पनि उनले व्यक्त गरे। जुन लक्ष्य हामी राख्छाैँ, त्यो एउटा वर्ग समूहलाई मात्रै हुँदैन, सबैका लागि हुन्छ । बजेटमा कुनै एक घरानालाई मध्यनजर राखेर फाइदा पुर्याउने काम गर्ने र कसैलाई मध्यनजर राखेर घाटा बनाउने काम हुँदैन, जनता र देशलाई मध्यबिन्दुमा राखेर बजेट आउनेछ ।’ उनले भने। मन्त्री महतले आगामी वर्षको बजेटका लागि श्रोत जुटाउने चुनौती सरकारलाई रहेको पनि बताए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here