विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन्। आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलिले यस्तो बताएका हुन्। ५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्ने ओलीको दाबी छ।
एमाले अध्यक्ष ओलीले कोशी प्रदेश सरकारको सन्दर्भमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष इस्राइल मन्सुरीले हस्ताक्षर गरेको प्रसङ्गलाई संकेत गर्दै ओलीले कांग्रेसजस्तो पुरानो पार्टीले संविधान नमानेको देख्दा अचम्म लागेको बताए। माओवादीले संविधान मान्दिनँ भनेर हतियार उठाएर गएको बताउँदै उनले भने, ‘अहिले पनि मानेको छैन। तर कांग्रेसजस्तो पुरानो पार्टीले संविधानको खिल्ली उडाएको देख्दा अचम्म लागेको छ।’
गठबन्धनले असंवैधानिक गतिविधि गरेको आरोपसमेत उनले लगाएका छन्। उपसभामुखलाई किन बिरामी पार्नु भएको भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले गठबन्धनले जे जे असंवैधानिक गर्छ त्यसमा एमालेले साथ दिन्छ भन्ने कुरा नभएको बताए। गिरिबन्धु टि स्टेट जग्गा प्रकरणबारे ‘चिल आयो, चिल आयो भनेर कुखुरा चोर्ने तरिका’ भन्दै टिप्पणी गरेका छन्।











