उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘हार्दिक धन्यवाद’ व्यक्त गरेका छन्। उत्तर कोरियाली नेता किमको रूसको सुदूर पूर्वको भ्रमणले युक्रेनमा युद्धका लागि आणविक शक्ति सम्पन्न प्योङयाङले मस्कोलाई हतियार उपलब्ध गराउन सक्ने पश्चिमाहरूको आशङ्कालाई बढावा दिएको छ।

भ्रमणका क्रममा उत्तर कोरियाली नेताले रूसी अन्तरिक्ष रकेटदेखि पनडुब्बीसम्मका सबै कुराको निरीक्षण गरेका थिए। यसमा पुटिनसँग राइफलको साङ्केतिक आदानप्रदान पनि समावेश रहेको छ।

कोरियाली केन्द्रीय समाचार संस्था केसीएनएका अनुसार किमले राष्ट्रपति पुटिन र रूसी नेतृत्वलाई विशेष ध्यान र सौहार्दपूर्ण आतिथ्यताका लागि हार्दिक धन्यवाद दिएका छन्। केसीएनएका अनुसार रूसी महासङ्घको औपचारिक सद्भावना भ्रमणको कार्यतालिका सफलतापूर्वक पूरा गरी किम स्वदेश फर्किएका छन्।उनले ‘रुसको समृद्धि र त्यहाँका जनताको कल्याण’ को कामना पनि गरेको केसीएनएको रिपोर्टमा उल्लेख छ।

उत्तर कोरिया र रूसको ऐतिहासिक मित्रत्रा कायम रहेको छ। युक्रेन आक्रमणको लागि मस्को र आणविक हतियार परीक्षणको लागि प्योङयाङ दुबै मुलुकले विश्वव्यापी प्रतिबन्धहरूको सामना गरिरहेका छन्।

भ्रमणका क्रममा किमले पुटिनसँग दुर्लभ शिखर वार्ता गरेकाले रूससँगको द्विपक्षीय सम्बन्धलाई आफ्नो देशलाई पहिलो प्राथमिकता बनाउने बताएका थिए। चीन अहिले उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण सहयोगी र हितैषी देश हो।

उत्तर कोरियाको तोपको गोला युक्रेनमा प्रयोग गर्न रूस आतुर छ भने प्योङयाङले स्याटेलाइट प्रबिधि र सोभियतकालीन सैन्य उपकरणको उन्नयनमा सहयोग खोजिरहेको विज्ञहरूले बताएका छन्।

बुधबार पुटिन र किमबीच मस्कोबाट करिब आठ हजार किलोमिटर टाढा रहेको रूसको नयाँ भोस्तोच्नी कोस्मोड्रोममा भेटवार्ता भएको थियो। भेटपछि पुटिनले उत्तर कोरियासँग अझ बढी सहयोगको सम्भावना र सैन्य सम्बन्धका लागि ‘सम्भावना’ बारे कुरा गर्नुभएको थियो। तर रूसी प्रशासनिक केन्द्र क्रेमलिनले भने कुनै पनि सम्झौतामा हस्ताक्षर नभएको र नहुने बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here