१२ असोज, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका केन्द्रीय कार्यालयहरुको छड्के अनुगमन गरेका छन् ।

मन्त्री भुसालले काठमाडौंस्थित त्रिपुरेश्वरमा रहेका केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोशाला, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, केन्द्रीय रिफरल पशु चिकित्सालय, नेपाल पशु चिकित्सा परिषद्को छड्के अनुगमन गरेका हुन् ।

कार्यालय समयमै छड्के अनुगमनमा निस्किएका मन्त्री भुसालले आजसम्म भएगरेका काम कारबाहीबारे जानकारी लिंदै तत्कालै गर्नुपर्ने काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

देशभरका पशुपन्छीमा लाग्ने रोग, चाहिने खोप, बिरामी पशुपन्छीको उपचार लगायतका क्षेत्रमा यी कार्यालयले काम गर्दै आएका छन् ।

लम्पी स्किन रोगको कारण देशभरका पशुमा क्षति पुगिरहेको बेला यस रोगको निदानका लागि के कस्ता प्रयास भएका छन् मन्त्री भुसालले चासो राखेका थिए ।

लम्पी स्किन रोगको नियन्त्रणका लागि भ्याक्सिन अनिवार्य भएको र यसको खोप उत्पादन गर्ने गरी राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले काम गरिरहेको कार्यालयका प्रमुख पशु चिकित्सक डा. टंकप्रसाद प्रसाईंले जानकारी गराए ।

लम्पी स्किन रोगको नियन्त्रणका लागि कार्यालयले भ्याक्सिन उत्पादनका लागि चाहिने आवश्यक पूर्वाधार बनाइसकेको डा. प्रसाईंले बताए ।

मन्त्री भुसालले भ्याक्सिन उत्पादनका लागि चाहिने आवश्यक सिड भाइरस भारतबाट ल्याउने प्रक्रिया अगाडि बढेको जानकारी गराए ।

भारतबाट सिड भाइरस ल्याएपछि प्रयोगशालाले लम्पी स्किन रोगको भ्याक्सिन तयार गर्नेछ । यो काम दशै अगावै गर्ने गरी काममा लाग्न कर्मचारीलाई मन्त्री भुसालले निर्देशन दिएका छन् ।

साथै मन्त्री भुसालले पशुपन्छीमा लाग्ने अन्य रोगको खोप उत्पादन सम्बन्धि वस्तुस्थिति, पशुपन्छीको रोग निदान गर्ने प्रयोगशालाको भौतिक पूर्वाधारको अवस्था, आवश्यक जनशक्तिको अवस्था, प्रयोगशालामा सञ्चालनमा नआएका मेसिनको अवस्थाबारे जानकारी लिएको पशु चिकित्सक पूर्णबहादुर बूढाले बताए ।

मन्त्री भुसालले तत्काल प्रयोगमा नआएका मेसिनलाई तत्काल प्रयोग गर्नुपर्ने र अन्य समस्या भए आफूलाई तत्कालै गर्नुपर्ने कामको बारेमा औपचारिक रुपमा जानकारी दिन आग्रह गरे । अपुग स्रोत साधनको तत्काल पूर्ती गरी पशुपन्छीको क्षेत्रको कामलाई अगाडी बढाउनुपर्नेमा मन्त्री भुसालले जोड दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here