काठमाडौं : पछिल्लो समय गाउँमा दशैँ मनाउन टिकट काट्ने यात्रुहरूको चाप ह्वात्तै बढेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार पछिल्लो ३ दिनमा १ लाख ५० हजार ३०९ यात्रु उपत्यकाबाट बाहिरिएका छन्।
असोज २७ बिहान ६ बजेसम्म ४७ हजार ६४३, असोज २८ गते बिहान ६ बजेसम्म ५१ हजार २७९ र २९ गते बिहान ६ बजेसम्म ५१ हजार ३८७ यात्रु बाहिरिएका छन्। अहिले पनि यात्रुहरूको चाप बढेपछि यातायात व्यवसायीहरूले गाडी थप्न थालेका छन्।
यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले दैनिक थप ३ वटासम्म गाडीको व्यवस्था गर्ने गरेको जानकारी दिए। ‘अहिले धेरै यात्रुहरूको चाप छ, त्यसैले दैनिक ३ वटा गाडीसम्मको व्यवस्था गरेका छौँ,’ उनले भने।
उनले दशैँको लागि अग्रिम टिकट खुलाएको बेला ५ वटा बस थपेको जानकारी दिए। सरकारले असोज २२ गतेदेखि दशैँको लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो। गाउँ जान यात्रुलाई सहज होस् भनी सरकारले प्रत्येक वर्षको दशैँमा अग्रिम टिकटको व्यवस्था गर्दै आएको छ।





