बैतडी : अविरल वर्षापछि खसेको पहिरोका कारण खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको छ।  जिल्लाको पाटन नगरपालिका ८ साणीघाटमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।  आइतबार बिहान ७ बजेतिर खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा राजमार्गमा सञ्चालन हुने सवारी आवागमन पूर्ण रुपमा रोकिएको र यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन्।

यसअघि असार २२ गते बेलुका सिगास गाउँपालिका ९ को आलुगैरामा पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग राति सुचारु भएको थियो।

यस्तै देहिमाडौं–गिरेगडा जोड्ने सडक पनि अवरुद्ध भएको छ। उक्त सडकखण्डको सेडामा पहिरो खस्दा यातायात सेवा बन्द रहेको प्रहरीले जनाएको छ।

अवरुद्ध राजमार्ग तथा सडक  खुलाउन पहल भइरहेको भए पनि निरन्तरको वर्षाका कारण समस्या भएको जनाएको छ। बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ।

लगातार वर्षा भइरहेको सावधानी अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले  आग्रह गरेको छ। जलवायु तथा मौसम विज्ञान विभागले बैतडीमा आइतबारसम्म भारी वर्षा हुने भन्दै रेडजोनमा राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here