२७ फागनु, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरूको जिम्मेवारी हेरफेर गरेका हुन्।

मन्त्रालयले स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा.चन्द्रभाल झालाई जिम्मेवारी दिएको छ।

महाशाखाका निर्देशक रहेका डा. यदुचन्द्र घिमिरेलाई किटजन्य रोग अनुसन्धान केन्द्रको प्रमुखका रुपमा सरुवा गरिएको छ। डा. झा नारायणी अस्पतालमा थिए। त्यसअघि उनी कोशी अस्पतालका निर्देशक थिए।

यसैगरी, गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रमुख डा. एन्जिला घिमिरेलाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सरुवा गरिएको छ। घिमिरे बाल रोग विशेषज्ञ हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पतालमा कार्यरत डा. किरणमणि पौडेललाई गजेन्द्रनारायण सिंह प्रतिष्ठानमा सरुवा गरिएको छ।

११औं तहमा बढुवा भएका ६ जना चिकित्सकलाई पनि जिम्मेवारी दिइएको छ । प्रमुख बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जिम्मेवारी दिइएको छ । कार्डियोलोजिस्ट डा. मनोज कोइरालाको दरबन्दी कोशी अस्पतालमा कायम गरिएको छ ।

हाल भने कोइरालालाई काजमा पोखरा पठाइएको छ, मानसिक रोग विशेषज्ञ डा. अजिता पौडेललाई कोशी, प्रमुख अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापतीलाई नारायणी, प्याथालोजिस्ट निलम वैद्यलाई भरतपुर र डेन्टल सर्जन बन्दना खनाललाई कोशी अस्पतालमा पदस्थापन गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here