रुपन्देही, जेठ ३ – हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित तीन जनालाई भैरहवाबाट पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट प्रहरीले २५ लाख रुपैयाँभन्दा बढी नगद रकम बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका–७ निवासी ३८ वर्षीय दिनेश बनिया, कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ का ४६ वर्षीय मसिउद्धिन फकिर र भारतको नौतनवा निवासी ५० वर्षीय कृष्ण अग्रहरी रहेका छन्।

प्रहरीले गोप्य सूचनाका आधारमा भैरहवाको दुई फरक स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। कार्यालयका सूचना अधिकारी तथा डिएसपी सुरज कार्कीका अनुसार, दिनेश बनिया भैरहवाको बैंक रोडबाट पक्राउ परेका हुन्। उनको साथबाट १३ लाख ५० हजार रुपैयाँ बरामद गरिएको छ।

त्यसैगरी, मसिउद्धिन फकिर र कृष्ण अग्रहरी सिद्धार्थनगर नगरपालिका–१२ बाट पक्राउ परेका हुन्। फकिरको साथबाट ३ लाख ८६ हजार २ सय नगद र एक थान मोबाइल फोन बरामद गरिएको छ भने अग्रहरीको साथबाट ८ लाख ३९ हजार ४ सय ५० रुपैयाँ र एक थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरूविरुद्ध आवश्यक कानुनी कारबाही अघि बढाइएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here