अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रुसले गरेको पछिल्लो आक्रमणको कडा विरोध गरेका छन्। उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूरै युक्रेन कब्जा गर्ने मनसायले हमला गरिरहेको दाबी गर्दै, यदि त्यसो गरेमा रुस आफैं संकटमा पर्ने चेतावनी दिएका छन्।
ट्रम्पले ट्रुथ सोसलमा लेख्दै भनेका छन्, “मैले सधैं भनेको छु—पुटिनलाई युक्रेनको सानो हिस्सा मात्र होइन, पूरै देश चाहिएको हो। अहिले त्यो पुष्टि हुँदै गएको देखिन्छ। तर यदि उनले यो बाटो रोजे, रुसको पतन निश्चित छ।”
हालैको आक्रमणलाई अहिलेसम्मकै भयंकर बताइँदैछ, जसमा पत्रकारहरुसहित कम्तीमा ३० जनाको ज्यान गएको छ। ट्रम्पले पुटिनलाई ‘सन्की’ भन्दै उनीसँग पहिले राम्रो सम्बन्ध भए पनि अहिले उनको व्यवहार बदलिएको बताएका छन्। “उनी अहिले धेरै मानिसहरूलाई बिना कारण मारिरहेका छन्, सैनिक मात्र होइन, सामान्य नागरिक र शहरहरू लक्षित हवाई हमलामा परेका छन्,” ट्रम्पले लेखेका छन्।
ट्रम्पले रुसले हमला नरोके थप कडा प्रतिबन्ध लाग्ने चेतावनी पनि दिएका छन्। साथै उनले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको अभिव्यक्तिलाई देशको हित विपरीत भनेका छन्। “जेलेन्स्कीको बोलीले समस्या मात्र बढाउँछ। यस्तो व्यवहार रोक्नु राम्रो हुन्छ,” उनले टिप्पणी गरे।
जेलेन्स्कीले पछिल्लो आक्रमणपछि अमेरिका र अन्य पश्चिमी मुलुकहरू मौन बसेर रुसलाई प्रोत्साहन दिएको आरोप लगाएका थिए।





