काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले युवा पुस्ता (जेनजी) को आन्दोलनमा भएको हिंसा र मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै उनीहरूको मागप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गरेका छन्। उनले सरकारलाई अभिभावकको भूमिका निभाएर जिम्मेवार बन्न र आन्दोलनकारीका माग सम्बोधन गर्न पनि आग्रह गरेका छन्।
महरले आन्दोलनमा घाइते भएकाहरूको तत्काल निःशुल्क उपचारको व्यवस्था गर्न र ज्यान गुमाएकाका परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन्। उनले देशको भविष्य, सुशासन र न्यायका लागि युवा पुस्ताले उठाएका आवाजलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका छन्।
सरकारलाई आन्दोलनरत पक्षका जायज मागहरूलाई बेवास्ता नगरी तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्न पहल गर्न पनि महरले आग्रह गरेका छन्। उनले आन्दोलनरत पक्षलाई पनि संयमित र शान्तिपूर्ण रहन आह्वान गरेका छन्।
नेपाली कांग्रेस नागरिक अधिकार र लोकतान्त्रिक मूल्यमान्यताको पक्षमा सदैव दृढतापूर्वक उभिने प्रतिबद्धतासमेत महरले व्यक्त गरेका छन्।





