लन्डन । नेपालमा भइरहेको ‘जेन-जी’ आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गर्न बेलायतका विभिन्न सहरमा रहेका नेपाली समुदायले श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेका छन्।
कार्यक्रममा सहभागीहरूले भ्रष्टाचारविरुद्धको आन्दोलनमा ज्यान गुमाएका युवाहरूलाई स्मरण गर्दै न्याय, पारदर्शिता र जवाफदेही शासनका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता जनाए। उनीहरूले शान्तिपूर्ण आन्दोलनमा भएको दमनको विरोध गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।
‘हामी टाढा छौँ तर हाम्रो मन नेपालमै छ’ भन्दै सहभागीहरूले विदेशमा रहे पनि मातृभूमिको पीडामा ऐक्यबद्धता रहेको सन्देश दिए। यद्यपि, उनीहरूले आन्दोलनको दोस्रो दिन सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनीको समेत विरोध गर्दै संयमता अपनाएर ‘नयाँ नेपाल निर्माण अभियान’ मा लाग्न सबैलाई आह्वान गरे।
नेपालमा भइरहेको यस आन्दोलनले विश्वभरका नेपालीलाई भावनात्मक रूपमा जोडेको र बेलायतमा आयोजित यो कार्यक्रमले ऐतिहासिक महत्त्व राखेको नेपाली समुदायले बताएका छन्।





