३ मंसिर, काठमाडौं । चुनावअघि नियमित महाधिवेशनको पक्षमा रहेका नेपाली कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको बैठक आज मंगलबार बसेको छ ।

केन्द्रीय सदस्य आङ्गेलु शेर्पाको अनुसार संस्थापन पक्षबाट नियमित महाधिवेशनको माग गर्ने केन्द्रीय सदस्यहरूको संख्या थप बढ्दै गएको छ । ‘आज हामी २६ जनाले बैठक गर्‍यौं । यो संख्या ३०/३१ पुग्ने देखिन्छ,’ शेर्पाले अनलाइनखबरसँग भने ।

संस्थापन पक्षबाट नियमित महाधिवेशनको पक्षमा २४ जना देखिँदै आएको छ । उनीहरूले पटक पटक बैठक गरेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई नियमित महाधिवेशन गर्न ध्यानाकर्षण पनि गराएका थिए । आजको बैठकमा थपिएका केन्द्रीय सदस्यहरूमा जानकी सिंह र तारामान गुरुङ थिए ।

कुपण्डोलमा अपरान्ह देखि बसेको बैठकले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर चुनावअघि नियमित महाधिवेशन गराउन ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

शेर्पाका अनुसार दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, संस्थापनइतरका नेता डा.शेखर कोइराला लगायतसँग चुनावअघि महाधधिवेशन गराउन कार्यतालिका ल्याउने विषयमा छलफल गर्ने भएको छ । साथै, विशेष महाधिवेशन पक्षहरूसँग पनि छलफल गरिने शेर्पाले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here