काठमाडौं– शिक्षा मन्त्रालयले चिकित्सा शिक्षातर्फको स्नातक तहमा चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने चेतावनी दिएको छ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बुधबार एक विज्ञप्ति जारी गर्दै गैर कानुनी रुपमा विद्यार्थीहरुबाट बढी शुल्क असुल गरेमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा १४ बमोजिम कारबाही हुने बताएका छन्।

आयोगको निर्देशन तथा चिकित्सा शिक्षा ऐनलाई वेवास्ता गरी बढी शुल्क लिएमा आयोगले बढी शुल्क लिने मेडिकल कलेजहरुको सम्बन्ध तथा शैक्षिक कार्यक्रम खारेजसमेत गर्नसक्ने ऐनमा उल्लेख छ।

उक्त ऐनको दफ १४ मा ‘सम्बन्धनको खारेजीसम्बन्धी व्यवस्था’ छ। जसमा ‘दफा १८ बमोजिम निर्धारित भन्दा बढी शुल्क लिएमा आयोगले शिक्षण संस्थाको वा सो संस्थाको कुनै एक वा सो भन्दा बढी शैक्षिक कार्यक्रमको सम्बन्धन खारेज गर्न सम्बन्धित विश्वविद्यालयलाई लेखी पठाउन सक्नेछ’ भनिएको छ।

सो ऐनको दफा १८ मा शिक्षण शुल्क सम्बन्धी व्यवस्था उल्लेख गरिएको छ। जसमा ‘विश्वविद्यालय, प्रतिष्ठान वा शिक्षण संस्थाको लागत तथा संचालन खर्च, मुद्रास्फिति, भौगोलिक अवस्थिति, छात्रवृत्ति तथा निशुल्क सेवा समेतलाई दृष्टिगत गरी विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थासँग परामर्श गरी आयोगले शुल्क निर्धारण गर्नेछ’ भनिएको छ।

तर चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढी शुल्क माग गर्दै काठमाडौं मेडिकल कलेजले अहिलेसम्म विद्यार्थी भर्ना लिन मानेको छैन। बढी शुल्क माग गर्दै भर्ना नलिएपछि विद्यार्थीहरु लामो समयदेखि सडकमा रिले अनसन तथा धर्नामा छन्।

विद्यार्थीहरुको आन्दोलन चर्कँर्दै गएपछि शिक्षा मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै बढी शुल्क नलिन विश्वविद्यालयहरुलाई जानकारी गराएको र निर्धारित शुल्क भन्दा बढी रकम नबुझाउन सबैलाई सूचना जारी गरिएको जनाएको छ।

शिक्षा मन्त्रालयले केही मेडिकल कलेजहरुले आयोगबाट निर्धारित शुल्क भन्दा बढी शुल्क लिएको जनगुनासो प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शिक्षा मन्त्रालय र गृह मन्त्रालयले समेत यसअघि नै निर्धारित शुल्कभन्दा बढी रकम नलिन र लिइएको पाइए कानून अनुसार कारबाही हुने व्यहोरा खुलाई सार्वजनिक सूचना प्रकाशन गर्न सम्बन्धित विश्वविद्यालयलाई निर्देशनसमेत दिइएको शिक्षा मन्त्रालयले जनाएको छ।

बढी शुल्क लिने मेडिकल कलेजलाई नियमन गर्न आयोगको अनुगमन टोलीसमेत गठन गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। काठमाडौं मेडिकल कलेजले बढी शुल्क माग गरेको भन्दै विद्यार्थीहरुले बुधबार पनि काठमाडौंमा वृहत प्रर्दशन गरेका थिए।

उनीहरुले ‘मेडिकल माफिया होसियार, आयोगले तोकेको भन्दा बढी शुल्क लिन पाइदैन, लुटतन्त्र बन्द गर हाम्रो भविश्य सुनिश्चित गर’ लगायतको नारा लगाउँदै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए।

हेर्नुहाेस विज्ञप्ती:

No description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here