राष्ट्रियसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी पूरा
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।
उनले भने, “केही स्थानमा सामान्य बुथ निर्माण र सर्वदलीय बैठक गर्नेबाहेक निर्वाचन व्यवस्थापनका लागि गर्नुपर्ने शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत अरु सबै तयारी पूरा भइसकेको छ, बाँकी ती केही काम पनि आजै सम्पन्न हुनेछ ।”
निर्वाचनको मौनअवधि सुरु भइसकेकाले प्रचार–प्रसार रोकिएको छ भने निर्वाचनमा खटिने सुरक्षाकर्मी, निर्वाचन कर्मचारी र स्वास्थ्यकर्मीसहितको टोलीको व्यवस्थापन भइसकेको छ । मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बुधबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।
आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो । सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् ।
आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा भाग लिएका छन् ।
निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् । प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्सीय राष्ट्रियसभाका एकतिहाइ सदस्य प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने सवैधानिक व्यवस्था छ ।

सङ्क्रमण बढेपछि कास्कीमा अधिकांश सरकारी कार्यालयको सेवा स्थगित
कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरमा सङ्क्रमित बढ्दै जाँदा जिल्लामा सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा कटौती भएको छ ।​ सेवाग्राहीका भीड बढी हुने जिल्लाका अधिकांश कार्यालयले कार्यरत कर्मचारी सङ्क्रमित भएपछि सेवा स्थगन गरेका छन् । केही कार्यालयको सेवा पूर्ण बन्द गरिएको छ भने केहीले आंशिक सञ्चालन गरेका छन् । स्थानीय सरकारले पनि अत्यावश्यकबाहेकका जनसम्पर्क सम्बन्धित सेवा स्थगन गरेका छन् । जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, यातायात व्यवस्था कार्यालयलगायत दैनिक सेवाग्राहीको भीड बढी हुने कार्यालयको सेवा रोकिएको ती कार्यालयहरूले जनाएका छन् ।
प्रशासनले सङ्क्रमण रोकथामका लागि २५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरे पनि सार्वजनिक सेवा प्रदायक कार्यालयमा सो आदेशको पालना भएको देखिएको छैन । जसबाट सङ्क्रमण बढेको बताइन्छ । जिल्ला प्रशासन कार्यालय कास्कीको सेवा आज माघ ११ गतेदेखि अनिश्चितकालका लागि स्थगन गरिएको छ । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार शान्ति सुरक्षा, मुद्दा व्यवस्थापन, विपद् व्यवस्थापन र अत्यावश्यक सेवाबाहेकका अन्य सबै नियमित सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको छ ।

भ्रष्टाचार हुने मुलुकमा नेपाल ११७ औं स्थानमा
भ्रष्टाचार हुने मुलुकमा नेपाल ११७औं स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले सन् २०२१ को तथ्यांक मंगलबार जारी गर्दै नेपाल गतवर्षकै स्थानमा रहेको देखाएको हो ।
टीआईले १८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारको विज्ञको अवधारणा मापन गरेको हो । विश्वभरि नै भ्रष्टाचारविरोधी प्रयासमा भएको कमी र शिथिलताले गर्दा मानवअधिकार र लोकतन्त्र धरापमा परेको जनाएको छ ।
कोभिड–१९ सम्बन्धी क्रियाकलापले पनि यस कुरालाई प्रशय दिएको प्रतिवेदनमा भनिएको छ ।
संसारभरि नै भ्रष्टाचार घट्न नसकेको र ८६ प्रतिशत देशले एक दशकसम्म पनि कुनै प्रगति हासिल नगरेको देखिएको छ ।
प्रतिवेदनले नागरिक हकअधिकार कमजोर भएका देशमा भ्रष्टाचार रहने, मानवअधिकार हनन् हुने, लोकतन्त्रको स्तर घट्ने, अधिनायकवाद बढ्ने र भ्रष्टाचारमा थप वृद्धि हुने जनाएको छ ।

हिमपातका कारण सिमकोटमा रोकिएका सीता एयरका दुवै जहाजले उडान भरे

हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा दुई दिनदेखि रोकिएका सीता एयरका दुई वटा विमानले आजदेखि उडान सुरू गरेका छन् । सिमकोट विमानस्थलमा आइतबारदेखि रोकिएका विमानले सोमबार दिउँसो १२ बजे नेपालगञ्जका लागि उडान भरेका हुन् । हुम्लामा खाद्यान्न ढुवानी गर्दै आएको सीता एयरका दुई जहाज सिमकोट विमानस्थलमै रोकिएका थिए ।
आइतबारदेखि जिल्लामा हिमपातसँगै बाक्लो कुइरो लागेपछि कुनै पनि विमान कम्पनीले नियमित उडान गरेका थिएनन् ।
सडक सन्जालमा नजोडिएको हुम्लामा नेपालगञ्ज, सुर्खेतबाट उडानमार्फत नै उपभोग्य सामानहरू चामल, नुन ढुवानी हुन्छ । हिमपात सुरू भएपिछ यहाँ यस्ता सामग्री ढुवानी समेत रोकिएको थियो । मंगलबारबाट अन्य विमान कम्पनीले पनि नियमित उडान थालेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले जनाएको छ ।

१२ वर्षीय मन्टु कुर्मीको हत्यामा संलग्न आरोपमा पाँचजना पक्राउ

पर्साको जगरनाथपुर गाउँपालिका–६ बस्ने नागेसरप्रसाद कुर्मीका छोरा १२ वर्षीय मन्टुप्रसादको हत्यामा संलग्न रहेको आरोपमा पाँचजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा जगरनाथपुर गाउँपालिका–६ बस्ने ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुधनप्रसाद यादव, ३० वर्षीय मनमोहनप्रसाद यादव र २५ वर्षीय रोहनप्रसाद यादव रहेका छन् ।
गएको पुस २३ गते दिउँसो जगरनाथपुर गाउँपालिका–६ स्थित उखु खेतमा मन्टुप्रसादको हत्या भएको अवस्थामा शव फेला परेको थियो । घटनाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले छिपहरमाई गाउँपालिका–६, भिष्वास्थित नेपाल–भारत सीमाबाट हत्यामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्साबाट सात दिन म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मौसममा सुधार आउन अझै केही दिन लाग्ने

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
राजधानी काठमाडौँमा बिहान अबेर आकाश केही खुलेर घाम लागेको भए पनि अहिले आंशिक बदली रहेको छ । महाशाखाका मौसमविद्को भनाइमा मौसम हिजोका दिनमा भन्दा आज तुलनात्मक सुधार आएको छ । पूर्णरुपमा सुधार हुन अझै केही दिन लाग्नेछ । विगतको तुलनामा आज मध्याह्नपछि बदली हुनुका साथै थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले अबका केही दिन बिहानीपख मौसम केही खुले पनि मध्याह्नपछि पुनः बदली र हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

कोरोना महामारीमा राष्ट्रिय परिचयपत्र बनाउन प्रशासनमा सेवाग्राहीको भीड
जिल्ला प्रशासन कार्यालय लमजुङमा राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको छ । सरकारले राहदानी लिनका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरेसँगै सेवाग्राहीको भीड बढेको हो । जिल्ला प्रशासन कार्यालय लमजुङमा पछिल्लो सातादेखि राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
सरकारले गत वर्षबाट राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेसँगै लमजुङमा पनि विवरण संकलन सुरु भएको थियो । राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्ने तथा फोटो खिचाउने काम सुरु भए पनि वितरण भने अहिलेसम्म हुन सकेको छैन । परिचयपत्र छपाइमा ढिलाइ हुँदा हालसम्म विवरण संकलन गरिएका कसैको पनि परिचय पत्र नआएको प्रशासनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here