११ साउन, काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले बजार विस्तार रणनीति तय गरेको छ ।

उपभोक्तालाई आफ्ना उत्पादन सहजै उपलब्ध गराउन डीडीसीले साउनभित्र काठमाडौं उपत्यकाका ३० स्थानमा ‘डेडिकेटेड आउटलेट’ सञ्चालनमा ल्याउने भएको हो ।

डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार यी आउटलेटमा डीडीसीका उत्पादन मात्र बिक्री गरिने छ ।

‘हाम्रा उपभोक्तालाई सहज सेवा दिन हामीले हाम्रै डेडिकेटेड आउटलेट खोल्न लागेका हौं,’ उनले भने, ‘जहाँ डीडीसीका सम्पूर्ण सामग्री मात्रै उपलब्ध हुनेछन् ।’

उनका अनुसार काठमाडौंका प्रमुख व्यावसायिक तथा आवासीय क्षेत्र बूढानीलकण्ठ, वनस्थली, कलंकी, कोटेश्वर, नयाँ बानेश्वर र शंखमूल लगायत स्थानमा यी आउटलेट खुल्नेछन् ।

उपभोक्ताको बाक्लो बस्ती भएका ठाउँमा उपयुक्त स्थान खोज्ने कार्य भइरहेको छ । ‘साउन २० देखि २५ भित्र करिब १५ वटा आउटलेट पूर्णरूपमा सञ्चालनमा आइसक्नेछन्,’ महाप्रबन्धक पाण्डेले अनलाइनखबरसँग भने, ‘बाँकी १५ आउटलेट पनि सजावट र तयारी चरणमा रहेकाले छिट्टै सञ्चालनमा आउनेछन् ।’

यी बिक्री केन्द्रमा डीडीसीबाट उत्पादित सम्पूर्ण सामग्री दूध, दही, घिउ, बटर, पनिर, चिज, खुवा, आइसक्रिम, लालमोहन, रसबरी र मही सहजै उपलब्ध हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here