२४ भदौ, काठमाडौं । जेनजी आन्दोलनको जगमा बनेको राजनीतिक परिवर्तनले बालेन शाहलाई प्रधानमन्त्रीको कुर्सीसम्म पुर्यायो। तर त्यही आन्दोलनमा ज्यान गुमाएका युवाको स्मृति दिवसमा भने प्रधानमन्त्री शाह आफैं उपस्थित भएनन्।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको दिन मंगलबार नयाँ बानेश्वरमा शहीद परिवार र घाइतेहरू भेला भए। उनीहरू आफ्ना सन्तानको सम्झना गर्न मात्रै होइन, आन्दोलनले उठाएका प्रश्नको जवाफ खोज्न पनि पुगेका थिए। कार्यक्रममा प्रधानमन्त्री शाहको खोजी भयो।
प्रधानमन्त्री भने कार्यक्रममा देखिएनन्।
दिनभर उनको औपचारिक उपस्थिति रहेन। अन्ततः साँझ सामाजिक सञ्जालमार्फत उनले लेखे, ‘प्रिय जेनजी, सुशासन कायम हुने नै छ, शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली ।’
एक वाक्यको यो सन्देश पनि प्रधानमन्त्री शाहकै चाहना र रुचिमा आएको होइन रहेछ भन्ने बुधबार संसद्मा शहीद परिवारबाट नै खुलासा भएको छ ।
रास्वपा सांसद तथा जेनजी शहीदकी आमा रचना खतिवडा खत्रीले प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्रीसँग प्रश्न गरिन्, ‘शहीदले न्याय कति वर्षमा पाउँछ सरकार ? शहीद र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ अब ?’
उनका अनुसार शहीद परिवारले प्रधानमन्त्रीलाई कार्यक्रममा आउन पटकपटक आग्रह गरेका थिए। उनले भनिन्, ‘निमन्त्रणा दिएर कि त आइदिनुस्, केही त बोलिदिनुस्, जेनजी शहीदको नाममा केही त लेखिदिनुस् भनेर बिहान ७ बजेबाट भन्दा बेलुकी ७ बजे स्टाटस त आयो । अन्तमा एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली ।’
उनले भनेजस्तै प्रधानमन्त्री शाहको एक वाक्यको श्रद्धाञ्जली सन्देश रात छिप्पिन थालेपछि ७ बजेर १८ मिनेटमा पोस्ट भएको थियो ।





