काठमाडौं, २२ चैत

विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने निर्णय गर्दै ‘हिसाब खोज’ अभियान सञ्चालन गर्ने भएको छ ।

काठमाडौंमा हालै सम्मन्न प्रथम राष्ट्रिय भेलाले आहुतिलाई महासचिव चयन गर्दै ९९ सदस्यीय केन्द्रीय कमिटीको निर्माण गरी बिभिन्न विभाग प्रमुखहरूसमेत चयन सो पार्टीले जनाएको छ ।

स्थानीय तह निर्वाचन आउन ३८ दिन मात्रै बाँकी रहँदा सो पार्टीले निर्वाचनको औचित्य नभएको निष्कर्ष निकालेको हो । ‘फेरि एकपटक दलाल संसदवादी शक्तिहरू चुनावका नाममा जनतामाझ भ्रमको खेती गर्दै आफ्नो सत्ता स्वार्थ रक्षा गर्ने अभियानमा छन्,’ सो पार्टीको निर्णयमा भनिएको छ, ‘हाम्रो पार्टी दलाल संसदीय व्यवस्थालाई जोगाउने एउटा अभिन्न अंगको रूपमा रहेको निर्वाचन औचित्यहीन भएको ठहर गर्दछ । साथै निर्वाचन बहिस्कार गर्ने निर्णयसहित दलाल संसदीय व्यवस्थाले सिंगो मुलुक र जनतालाई थोपरेको संकटका विषयमा आमजनतामाझ सचेतना अभियान र सिंगो दलाल संसदीय व्यवस्थाका विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्दै वैज्ञानिक समाजवादी व्यवस्था निर्माणको तीव्रतर प्रयत्न गर्दै जान यो राष्ट्रिय भेला पार्टी पंक्ति र आमजनसमुदायलाई हार्दिक अपिल गर्दछ ।’

सो पार्टीले स्थानीय, प्रदेश र संघीय तीनै तहका नेताहरूले भ्रष्टाचार गरेको ठहर गर्दै ‘हिसाब खोज’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । ‘दलाल संसदीय व्यवस्थाको चरित्रकै रूपमा देखापरिरहेको वर्तमान अवस्थामा आमजनता र समुदायको सम्पत्तिलाई आफ्नो निजीझैं ठानेर स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारमा सहभागी भएका भ्रष्ट आचरण गरिरहेका सम्पूर्ण जनप्रतिनिधि तिनका आसेपासे र कर्मचारीलाई खबरदारी गर्दै यो राष्ट्रिय भेला पार्टी निर्माण भएका हरेक स्थानीय तहमा ‘हिसाब खोज’ आन्दोलन अगाडि बढाउने घोषणा गर्दछ,’ सो पार्टीले हालै पारित निर्णयमा भनिएको छ ।

यसैगरी, बैठकले पार्टीको स्कुल तथा प्रकाशन विभाग प्रमुखमा आहुति, संगठन विभाग प्रमुखमा सागर लिम्बू, उत्पादन विभागमा मदन अर्याल, अन्तर्राष्ट्रिय विभाग प्रमुखमा राजेश नेपाली, विज्ञान प्रविधि विभाग प्रमुखमा सुरेन्द्र लुइँटेल, आर्थिक तथा लेखा विभाग प्रमुखमा सुवास पाण्डे, केन्द्रीय कार्यालय सचिवमा काल्साङ लामा, वैदेशिक श्रमिक विभाग प्रमुखमा राजन डोने, प्रचार प्रसार विभाग प्रमुखमा जागृत रायमाझी, मुस्लिम विभाग प्रमुखमा शुभराती मन्सुर तथार शिक्षक विभाग प्रमुखमा बद्रिकुमार चौलागााईलाई जिम्मेवारी दिएको छ ।

प्रदेश १ संयोजकमा आशीष लिम्बू, मधेस प्रदेश संयोजकमा वैद्यनाथ ठाकुर, बागमती प्रदेश संयोजकमा बुद्धलक्ष्मी महर्जन, गण्डकी प्रदेश संयोजकमा विनोद सोनाम, लुम्बिनी प्रदेश संयोजकमा लछुराम बिक र कर्णाली प्रदेश संयोजकमा पुष्पकुमार भण्डारी र सुदूरपश्चिम प्रदेश–श्याम कुँवरले जिम्मेवारी पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here