काठमाडौँ – विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गरिएको पत्र निर्वाचन आयोगमा दर्ता भएको छ। पार्टीका बहुमत सदस्यहरूले मिश्रलाई कारबाही गरेर निर्वाचन आयोगमा दर्ता गराएका हुन्।

कारबाही सिफारिस गरिएका मिश्रले विचारभन्दा माथि देश भन्ने संविधानविरोधी दस्तावेज ल्याएदेखि नै पार्टीमा विवाद उत्पन्न भएको हो।
मंसिर २४ गते विवेकशील नेपाली दल र साझा पार्टी एकीकरण गरेर विवेकशील साझा पार्टी बनेको थियो। पार्टी अध्यक्ष रवीन्द्र मिश्र थिए भने संयोजक मिलन पाण्डे थिए। अध्यक्ष र संयोजक दुवैले सहमतिमा पार्टी सञ्चालन गर्ने भनेर एकीकरण भएको थियो।

गत साउन ११ गते रवीन्द्र मिश्रले विचारभन्दा माथि देश भन्दै एकीकरणमा भएको सम्झौताविरोधी दस्तावेज ल्याए। उक्त दस्तावेजमा मिलन पाण्डे, रन्जु दर्शना, केशव दाहाल, रमेश पौड्याल, पुकार बमलगायतका नेताहरुले विरोध गरे।

तर, रवीन्द्र मिश्र भने बहुमतको आधारमा पाण्डे पक्षलाई पेल्दै अघि बढे। मिलन पाण्डे र रन्जु दर्शनालगायतलाई कारबाही गरियो। पाण्डे पक्षका करिब २ दर्जन नेताहरुले राजीनामा दिए। अहिले मिश्र पक्षकै उक्त विचारमा समर्थन गर्ने नेताहरुबीच विवाद भएको छ।

अहिले भीम आचार्यको नेतृत्वमा एउटा पक्ष निर्वाचन आयोग पुगेको छ। ६९ जनाको हस्ताक्षरसहित उक्त पक्षले निर्वाचन आयोगमा रवीन्द्र मिश्रलाई अध्यक्षबाट हटाएको पत्र पनि दिएको हो।

अहिले ६७ जना रवीन्द्र मिश्रको पक्षमा र ६९ जना उनको विरोधमा रहेको बताइएको छ। मिश्रको दस्तावेज आएको बेलादेखि नै विद्रोह गर्दै आएको पाण्डे समूहमा करिब २७ जना नेता छन्। पाण्डे समूहमा धेरैले राजीनामा दिएर पार्टी परित्याग गरिसकेका छन्। मिश्रको पक्षमा उभिने र आयोगमा अहिले उजुरी हाल्ने दुवै समूहले विचारभन्दा माथि देशमार्फत गणतन्त्रलाई आयातित, संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रह माग गरेका छन्।

निर्वाचन आयोगमा १६३ जना केन्द्रीय सदस्य अद्यावधिक छन् भने अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे नै कायम छन्। संयोजक पाण्डेको कारबाहीले मान्यता पाएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here