काठमाडौं। रुसले आक्रमण गरिरहेको युक्रेनको राजधानी किभमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सन भ्रमणका लागि पुगेका छन्।
युद्ध जारी रहँदा पनि जोन्सन युक्रेनलाई समर्थन गर्न त्यहाँ पुगेको बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटले जनाएको छ।
सो क्रममा जोन्सन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको तस्बिरहरु सार्वजनिक भएका छन्। बीबीसीका अनुसार जोन्सनले युक्रेनलाई रुसविरुद्ध लड्न हतियारहरु दिने वाचा गरेका छन्।
जोन्सनले जेलेन्स्कीलाई १२० बख्तरबन्द सैन्य गाडी तथा नयाँ एन्टी सिप क्षेप्यास्त्र दिने वाचा गरेका हुन्।
बेलायतले सो क्रममा युक्रेनलाई ५० करोड अमेरिकी डलर विश्व बैंंकबाट दिलाउने प्रतिवद्धता पनि जनाएको छ।
अहिलेसम्म बेलायतले युक्रेनलाई एक अर्ब अमेरिकी डलर ऋण दिने ग्यारेन्टी गरेको छ।
जोन्सनले कहिले युक्रेनको भ्रमण गरे भनेर उल्लेख गरिएको छैन।
युक्रेन भ्रमणपछि जोन्सनले भनेका छन्,‘युक्रेनले जटिलतालाई पराजित गर्दै रुसी सेनालाई किभको बाटोबाट पछाडि हटाइदिएको छ। म यो स्पष्ट रुपमा भन्न चाहन्छु कि युक्रेनको समर्थनमा बेलायत खडा छ।’
जेलेन्स्कीको अटल नेतृत्वको लागि पनि बेलायतले युक्रेनलाई सहयोग जारी राख्ने र पुटिनको योजना असफल बनाइने बेलायतको भनाइ छ।





